काठमाडौं । प्रस्तावित तमोर र माडी खोला जलासययुक्त आयोजनाको निर्माण २ वर्षभित्र हुने भएको छ । दुवै आयोजनाको विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम २ महिनाभित्र सुरु हुनेछ ।
२ वर्षभित्र डीपीआर काम र लगानी जुटाएर तमोर र माडी जलविद्युत् आयोजनाको निर्माण सुरु हुने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए ।
उनले आयोजनाको संभाव्यता अध्ययन तत्काल सुरु हुने जानकारी दिए । डीपीआर तयारपछि मात्र आयोजनाको वास्तविक क्षमता र लगात निर्धारण हुने छ । दुवै आयोजनाको लागत २ खर्ब रुपैयाँ अनुमान गरिएको छ ।
हालसम्मको सम्भाव्यता अध्ययनअनुसार तमोरको जडित क्षमता ७६२ र माडीको १५७ मेगावाट हुनेछ । दुवै आयोजना एचआईडीसीएल र पावर कन्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) को साझेदारीमा निर्माण हुने समझदारी (एमओयू) भएको छ । सम्भाव्यता अध्ययनअनुसार दुवै आयोजनाको जडित क्षमता ९१९ मेगावाट छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको दुई दिने राजकीय भ्रमणमा क्रममा शुक्रबार ती आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएपछि पावर चाइनाको साझेदारीमा आयोजना निर्माण हुने पक्का भएको हो । आयोजना बनाउन नेपालमा बेग्लै कम्पनी स्थापना हुने छ ।
तमोर जलाशय आयोजना लगानी बोर्डमा छ । एचआईडीसीएल र पावर चाइनाले लगानी बोर्डसंग आयोजना विकास सम्झौता (पीडीए) गर्नुपर्छ । यस्तै माडी आयोजनाको अनुमतिपत्र (लाइसेन्स) एचआईडीसएलसंग भएकाले पीडीए आवश्यक नपर्ने सीईओ पोखरेलको भनाई छ ।
उनका अनुसार दुवैमा न्यूनतम २६ प्रतिशत लगानी सुनिश्चित गरिएको छ । तमोरमा नेपाललीले लगानी बढाउन सक्ने छ । यस्तै माडीमा एचआईडीसीएलको २६ र ७४ प्रतिशत पावर चाइनाको हुने गरी लगानी संरचना बनेको उनले सुनाए ।
तमोर प्रदेश १ र माडी जलाशययुक्त प्रदेश ५ को रोल्पा जिल्लामा छ ।
नेपालको सगरमाथा पावर कम्पनी र चीनको सिनो हाइड्रो कर्पोरेसनको साझेदारीमा ५० मेगावाटको माथिल्लो मर्स्याङदी ए र गोरखा कन्ट्रक्सन र चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनको साझेदारीमा २५ मेगावाटको मादी ए आयोजना पनि सञ्चालनमा छ ।
पावर चाइना र एचआईडीसीएलले प्रतिस्पर्धाबाट दुवै आयोजना निर्माणका लागि जिम्मा पाएका हुन । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्नेछ । सोहीअनुसार नै समझदारी गरिएको पोखरेलको भनाइ छ । सार्वजनिक – निजी साझेदारी (पीपीपी) खाकामा आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको हो ।
गत चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनमा ऊर्जातर्फ सोही आयोजनाका लागि दुई वटा प्रस्ताव प्रस्तुत भएको थियो । गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो ।
हाल उक्त प्रस्तावमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित समितिले मूल्याङन गरेको थियो । सोही समितिको मूल्याङ्कनअनुसार नै एमओयू भएको हो । तमोर आयोजनाबाट पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्ला प्रभावित हुनेछ ।