काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज बुधबार निर्वाचन हुँदैछ । एनआरएनएको निर्वाचनले ४२ जना नयाँ पदाधिकारी चयन गर्ने छ ।
एनआरएनएको नवौं महाधिवेशन बुधबारदेखि राजधानीमा सुरु भएको हो । सम्मेलनमा ८१ मुलुकबाट २ हजार ५०० भन्दा बढीको सहभागिता छ ।
निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि प्रकाशित गरेपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुने गर्दछ ।
कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ ।
निर्वाचनका लागि बुधबार बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ ।
नयाँ नेतृत्वका लागि उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन । दुबै समूले आफनो प्यानल खडा गरेर निर्वाचनमा होमिएका छन ।
संघमा राजनीतिकरण भएको भन्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलन वहिस्कार गरेका छन । पछिल्लो समयमा काँग्रेस र कम्युनिष्ट खेमाबाट चुनाव लडेपछि राजनीतिक ध्रुविकरण भएको छ ।
अध्यक्षका प्रत्यासी कुमार पन्त नेकपा निकट र कुल आचार्य कांग्रेस निकट ठानिएको छ । यो पटकको एनआरएनएको निर्वाचनलाई कांग्रेस भर्सेस कम्युनिष्टका रुपमा हेरिएको छ ।
पन्तको प्यानलमा को को ?
जर्मनीलाई कर्मथलो बनाएका कुमार पन्त दुई पटक उपाध्यक्ष भएका छन । अघिल्लो पटक उनले वर्तमान अध्यक्ष भवन भट्टलाई छाडेका थिए । अघिल्लो पटक भट्ट र जमुना घलेबीच प्रतिस्पर्धा भएको थियो ।
पन्त समूहबाट उपाध्यक्षमा बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् । महिला उपाध्यक्षमा रसिया निवासी सपिलाराज भण्डारीले उम्मेदवारी दिने भएकी छिन् ।
यस्तै महासचिवमा बेलायत निवासी डा. हेमराज शर्माले उम्मेदवारी दिने भएका छन । सचिवमा अझै निश्चित भएको छैन । सचिवमा अमेरिका निवासी गौरी जोशी, बेल्जियमका शिवकुमार बरुवाल र मध्यपूर्वका राजेन्द्रकुमार शर्माले दावी गरेका छन ।
कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन । सह–कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल, रसियाका गोबिन्दप्रसाद गौतम र अमेरिकाबाट एसी शेर्पाले दाबी गरेका छन् ।
आचार्य प्यानलमा को को ?
बेलायत निवासी आचार्य पनि प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । उनी संघका वर्तमान उपाध्यक्ष हुन । आचार्यको प्यानलबाट उपाध्यक्षमा अमेरिकाका केशव पौडेल, अष्ट्रेलियाका मन केसी, मध्यपूर्वका नरेन्द्र भाट र अमेरिकाबाट रबिना थापा चुनावी मैदानमा उत्रिएका छन ।
महासचिवमा बेल्जियमकी जानकी गुरुङ उम्मेदवार बनेकीछिन । कोषाध्यक्षमा सोम सापकोटाले आचार्य उठ्ने भएका छन ।
निर्वाचन शुल्क १० लाखसम्म
सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क १ लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए।
गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क ७ लाख ५० हजार रुपैयाँ थियो । गत महाधिवेशनभन्दा यसवर्ष २ लाख ५० हजार बढाएर १० लाख पुर्याइएको हो ।
अध्यक्षको दर्ता शुल्क १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को १ लाख रुपैयाँ तोकिएको छ । उनले सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक भएकाले उम्मेदवारको शुल्क बढाइएको बताए।
उपाध्यक्षको ७ लाख, महासचिवको ६ लाख, सचिव र कोषाध्यक्ष ५ लाख, सहकोषाध्यक्षको ४ लाख, महिला तथा युवा संयोजकको ३ लाख ५० हजार, क्षेत्रीय संयोजकको ३ लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको २ लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको २ लाख ५० हजार र आईसीसी सदस्यहरुको १ लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ ।