काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अथक मिहिनेत गरेर परीक्षा दिएकै कारण उत्कृष्ट नतिजा आएको बताएका छन् । ‘डुइङ विजनेस इन्डेक्स’ मा नेपाल ९४ औं स्थानमा आइपुगेपछि अर्थमन्त्री खतिवडाले सरकारले व्यापक सुधार गरेको र त्यसैको सकारात्मक प्रतिफल आएको बताएका हुन् ।

सरकारले एक वर्षकोबीचमा धेरै कानुनी सुधार, प्रक्रियातग सुधार गरेकाले डुइङ विजनेस रिपोर्टमा पनि सुधार आएको खतिवडाको भनाई छ । ‘गतवर्ष पनि व्यापार सुधार गरेका थिए, तर नतिजा भने उल्टो आयो,’ उनले भने, ‘तर, यसवर्ष सोचेअनुरुपको सफलता मिलेको छ ।’ स्थानीय तहका करमा केही समस्या देखिएको रिपोर्टले देखाएको छ । त्यस्तै सामाजिक सुरक्षा कोषमा पनि केही समस्या देखिएको छ । अर्को वर्ष दुवै क्षेत्रमा व्यापक सुधार गर्ने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता ब्यक्त गरे । ‘नयाँ व्यवस्था भएकाले स्थानीय तहमा केही समस्या भएकै हो,’ उनले भने, ‘अर्को वर्ष ती सम्पूर्ण समस्या समाधान हुन्छ ।’ डुइङ विजनेस रिपोर्टले विद्युत्को गुणस्तरको बारेमा भने प्रश्न उठाएको छ । त्यसलाई पनि अर्को वर्ष सुधार गर्ने अर्थमन्त्री खतिवडाले प्रतिवद्धता जनाए । ‘त्यसैगरी, निजी क्षेत्रले उद्योग खोल्न जति सजिलो छ, बन्द गर्न त्यति सहज छैन भन्ने गुनासो गरिरहनु भएको छ,’ उनले भने, ‘त्यसलाई पनि सहज बनाइन्छ । त्यसको प्रक्रिया अघि बढिसकेको छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले डुइङ विजनेस रिपोर्टमा नेपालको अवस्था सुध्रिनु अत्यन्तै सकारात्मक भएको बताए । ‘विदेशी लगानीकर्ता विश्व बैङ्कले निकालेको प्रतिवेदन हेरेर नेपालमा लगानी गर्ने वा नगर्ने भन्ने निर्णयमा पुग्छन्,’ गोल्छाले भने, ‘त्यसरी लगानी गर्नेलाई यो रिपोर्टले ठूलो सहयोग पु¥याउँछ ।’ उनका अनुसार लगानी भित्र्याउन पनि नेपाल सुध्रिएको राष्ट्रको रुपमा उभिएको छ । अहिले जति सुधार भएको छ, त्यो एकदमै राम्रो हो । तर, अझै धेरै सुधारको आवश्यक रहेको गोल्छाले औल्याए ।
नेपालको उत्पादन लागत अत्यधिक छ । यसलाई कसरी घटाउने भन्ने बारेमा पनि सोच्नु पर्ने बेला आएको छ । न्यायलयसम्बन्धी समस्या पनि उस्तै छ । त्यसलाई पनि कसरी सरलीकृत बनाउने भन्ने पनि सोच्नुपर्ने बेला आइसकेको गोल्छाको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले सबै सरकारी निकायलाई एकै ठाउँमा ल्याएर यति ठूलो सफलता हासिल गर्न सकेको बताए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले समन्वय मात्रै गरेको हो । ‘सरकारले एक वर्षको अवधिमा धेरै कानुन बनायौ, धेरै कानुन लागू ग¥यौ । मालपोतलगायतका ठाउँमा सुधार गरेको र त्यसैको फलस्वरुप परिणम राम्रो आएको हो,’ ढुङ्गानाले भने ।

विश्व बैङ्कका कन्ट्री म्यानेजर फरिस एच हडाड जेरभर्सले नेपालले ठूलो सफलता हासिल गरेको बताए । ‘नेपाल एकै पटक १६ स्थान माथि उक्लिएको छ,’ उनले भने, ‘यो एकदमै राम्रो कुरा हो ।’ नेपालले गरेको सुधारका कारण धेरै माथि उक्लिएको उनको भनाइ छ । नेपालले अझै धेरै सुधार गर्नुपर्ने देखिन्छ । अहिले जति भयो, एकदमै राम्रो भयो, अर्को बर्ष थप सुधार आवश्यक रहेको फरिसको भनाइ छ ।