काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। केन्द्रीय तथ्याँक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेर उक्त जानकारी दिएको हो।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ ५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
गत २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा २०६८ देखि २०७८ को अवधिमा वार्षिक औसत ०.९२ प्रतिशतका दरले जनसंख्या वृद्धि भएको देखिन्छ। जुन २०५८ देखि २०६८ सालको अवधिको वृद्धिदर (१.३५ प्रतिशत प्रतिवर्ष) को तुलनामा कम हो ।
तथ्यांक विभागले २०७८ कात्तिक २५ देखि मंसिर ९ गते सम्मको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो ।
प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।
वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (–०.०५ प्रतिशत), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक
(०.३० प्रतिशत) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५४ प्रतिशत) वृद्धि रहेको छ ।