काठमाडौं। आइडिया स्टुडियो नेपालद्वारा सञ्चालन भइरहेको ‘नेसनल आइडिया हन्ट सिजन ९’अन्तर्गत बागमती प्रदेशबाट उत्कृष्ट १० वटा आइडिया राष्ट्रिय चरणका लागि छनोट भएका छन्।
करिब ७ महिनाअघि देशभरका सातै प्रदेशबाट नवप्रवर्तनकारी तथा सम्भावनायुक्त आइडिया छनोट गर्ने उद्देश्यका साथ सुरु गरिएको यात्राअन्तर्गत बागमती प्रदेशस्तरीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
वैशाख २० र २१ मा कमलादीस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा बागमतीबाट छनोट भएका २५ वटा आइडियाका आइडियेटरलाई दुई दिने इन्क्युबेसन कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा व्यवसाय विकास, प्रस्तुतीकरण, बजार सम्भावना तथा उद्यमशीलतासम्बन्धी विभिन्न प्रशिक्षण तथा मेंटरिङ सत्र सञ्चालन गरिएको थियो।
त्यसैगरी वैशाख २२ गते युनाइटेड कलेज, कुमारीपाटीमा आयोजित पिचिङ कार्यक्रममा १७ वटा आइडियाले आफ्नो व्यवसायिक प्रस्तुति दिएका थिए। प्रस्तुतीकरणको मूल्यांकनपछि उत्कृष्ट १० वटा आइडियाले नेशनल आइडिया हन्ट सिजन ९ को राष्ट्रिय चरणमा प्रवेश गर्न सफल भएका छन्।
राष्ट्रिय चरणका लागि छनोट भएका आइडियामा स्वादको भण्डार, सेयरभिआईओ एप, पासा पुछा खाजा, बाइट जर टेक्नोलोजी, नेपाल इको क्रियसन, हाप्पु ट्रियटस्, मायु क्रियसन, सुगन्धिका, साई कन्स्ट्रक्सन, एग्रो रेन्ज नेपाल रहेका छन्।
कार्यक्रमको फाइनल पिचिङ सत्रमा डा. विवेक श्रेष्ठ (हस्पिटल डाइरेक्टर, होप हस्पिटल), सुरुचि खड्का (प्रेसिडेन्ट, फाउन्डर्स क्लब तथा फाउन्डर, (आम्स क्रियसन), लक्ष्मण पोखरेल (सीईओ÷प्रिन्सिपल, टेक्स्पायर कलेज) तथा ज्याक्सन सुवेदी (फाउन्डर, नेपाल अन्डरग्राउन्ड पिकल बल) निर्णायक मण्डलमा रहेका थिए।
आइडिया स्टुडियो नेपालका अनुसार अब सातै प्रदेशबाट छनोट भएका आइडियाहरूलाई ७ दिने राष्ट्रिय स्तरको इन्क्युबेशन कार्यक्रममा सहभागी गराइनेछ। त्यसपश्चात अन्तिम चरणको ग्रान्ड फिनाले पिचिङ कार्यक्रम आयोजना गरिने जानकारी संस्थाले दिएको छ।
यसअघि नै कोसी प्रदेशबाट ४, लुम्बिनीबाट ६, गण्डकीबाट ५, मधेसबाट ५ तथा सुदूरपश्चिम र कर्णालीबाट ६÷६ वटा आइडिया नेशनल आइडिया हन्ट सिजन ९ मा प्रवेश गरिसकेका छन्।