काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि मन्त्रालयका विभागीय मन्त्रीसँगको छलफल सकाएको छ। मन्त्रालयले सोमबारदेखि सुरु गरेको विभागीय मन्त्रीसँगको छलफल बुधबार सकाएको हो।
बजेट लेखन समितिले विभागीय अर्थमन्त्री डा स्वर्णिम वाग्लेलगायत विभागीय मन्त्रीहरूसँग छलफल गरेको थियो। बजेट लेखन समिति सदस्य टंकप्रसाद पाण्डेयका अनुसार बजेट माथिको मन्त्रालयगत विभागीय मन्त्रीसँगकोे छलफल सकिएको छ। हामी क्यालेन्डरअनुसार काम गरिरहेको सदस्य पाण्डेय बताउँछन्।
बजेटसम्बन्धी केही कन्फयुजनका विषयमा मन्त्रालयसँग छलफल गरिरहेको उनले बताए। मन्त्रालयगत छलफल सकिएसँगै समितिले बजेट लेखन कार्यलाई अगाडि बढाएको उनले जानकारी दिए।
पाण्डेयले भने, ‘हामीले बजेट लेखन कार्य गरिरहेका छौं। अझै पनि केही कुरामा कन्फयुज्ड भए मन्त्रालयसँग पनि बस्छौं। सोहीअनुसार मस्यौदा लेखन सुरु गरिएको हो।’
बजेटसम्बन्धी तीन चरणमा कार्य भइरहेको समितिले जनाएको छ। मस्यौदा समितिले मस्यौदासम्बन्धी कार्य गरिरहेको छ, भने बजेटले कार्यक्रमसम्बन्धी काम गरिरहेको छ। राजस्वसम्बन्धी विषयको राजस्व परामर्श समितिले पनि रिपोर्ट तयारीको काम गरिरहेको छ।
मन्त्रालयले विभागीय २१ मन्त्रालयसँग बजेटमाथि मन्त्रीस्तरीय छलफल गरेको थियो। मन्त्रालयले आगामी बजेट लेखन कार्यका लागि चैत २० बजेट लेखन समिति गठन गरेको थियो ।
मन्त्रालयले समिति संयोजकमा सहसचिव तथा राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीलाई तोकेको थियो। समिति सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा, अमृत लम्साल र पाण्डेय रहेका छन्।
सरकारको आयव्यय जेठ १५ मा संसद्मा टेबल गर्नुपर्ने संवैधानिक व्यवस्था छ। फागुन २१ को निर्वाचन र सरकार गठनका कारण बजेटतालिका प्रभावित हुँदा ढिलो गरी समिति गठन भएको थियो।