काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय अनुसन्धान र नवप्रवर्तनको प्रयोगशाला भएको बताएका छन्।
आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘आजको युग अनुसन्धान र नवप्रवर्तनको युग हो, विश्वविद्यालय त्यसका जीवन्त प्रयोगशाला हुन्,’ प्रधानमन्त्री दाहालले भने, ‘यी प्रयोगशालामा विज्ञान, प्रविधि, दिगो विकास, जलवायु परिवर्तनलगायतका विश्वका उदीयमान एवम् नवीनतम् विषयहरूसँग सम्बन्धित नीति निर्माण र अनुसन्धान आवश्यक हुन्छ। यसका लागि यहाँहरूको सक्रिय र रचनात्मक भूमिकाको अपेक्षा गर्दछु।’
उनले हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक भएको पनि बताए। ‘खासगरि विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ। स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ,’ दाहालले भने, ‘अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन।’
उनले नेपाल सरकारले पनि विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सबल बनाउन सरकारका अनुसन्धानसम्बन्धी कार्यहरू विश्वविद्यालयबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकहरूमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने आशा लिएको बताए।
विश्वविद्यालयका शैक्षिक क्यालेण्डर प्रभावकारीरूपमा लागू हुन नसक्दा विद्यार्थी भर्ना, कक्षा सञ्चालन, परीक्षा र नतिजा प्रकाशन सम्बन्धित कार्य निर्धारित समयमा नभइ विद्यार्थीको भविष्यमा धक्का लागेको पनि उनको भनाइ छ। यसले अभिभावकमा आफ्नो सन्ततिको भविष्यप्रति चिन्ताबोध हुने गरेको बताए।
‘विश्वविद्यालयमा निश्चित संख्यामा विद्यार्थी भर्ना भएपश्चात् परीक्षा कहिले हुने र परीक्षाफल कहिले प्रकाशन गर्ने भन्ने तालिका निश्चित हुनुपर्दछ,’ दाहालले भने, ‘सरकारले उच्च शिक्षा र विश्वविद्यालयका लागि ठोस समयतालिकासहितको क्यालेण्डर बनाउने र त्यसलाई कडाइका साथ लागू गर्ने कार्यको गृहकार्य थालिसकेको छ।’
उनले उच्च शिक्षा सम्बन्धी राष्ट्रिय क्यालेण्डर तयार भएपश्चात् उक्त क्यालेण्डरको सेरोफेरोमा विश्वविद्यालयहरूले आ–आफ्नो क्यालेण्डर बनाई यथाशीघ्र कार्यान्वयनमा ल्याउनेमा विश्वास व्यक्त गरे।