नेपालगञ्ज। नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ। भन्सार कार्यालय नेपालगन्जको तथ्यांकअनुसार गत वर्षको भन्दा चालू आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ।
पछिल्लो १० महिनाको तथ्यांकअनुसार नेपालगन्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख रुपैयाँबराबरको एक लाख आठ हजार तीन सय २८ किलोलिटर डिजल आयात भएको छ।
डिजल आयातबाट कार्यालयलाई चार अर्ब ६२ करोड २९ लाख रुपैयाँ राजस्व प्राप्त भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए।
गत वर्ष सो अवधिमा १३ अर्ब ११ करोड तीन लाख रुपैयाँबराबरको एक लाख ४१ हजार पाँच सय २८ किलोलिटर डिजल आयात भएको थियो। यसबाट कार्यालयले पाँच अर्ब ५४ करोड २७ लाख रुपैयाँ राजस्व असुल गरेको थियो।
वैशाखसम्म तीन अर्ब ८६ करोड ९७ लाख ८४ हजार मूल्य बराबरको ३८ हजार आठ सय ७६ किलोलिटर पेट्रोल आयात भएको छ। यसबाट दुई अर्ब २२ करोड ५२ लाख रुपैयाँ राजस्व असुली भएको छ।
गत वर्षको सोही अवधिमा चार अर्ब चार करोड २९ लाख रुपैयाँबराबरको ४४ हजार नौ सय ७६ किलोलिटर पेट्रोल आयात भएको थियो। उक्त पेट्रोल आयात हुँदा दुई अर्ब ५१ करोड ७९ लाख रुपैयाँ राजस्व असुली भएको छ।
त्यस्तै तीन अर्ब ९५ करोड ८२ लाख रुपैयाँबराबरको तीन करोड ४८ लाख ९८ हजार किलो एलपी ग्यास आयात भएकामा गत वर्ष चार अर्ब २६ करोड ८२ लाख रुपैयाँबराबरको तीन करोड ६९ लाख दुई हजार ६ सय ७० किलो एलपी ग्यास आयात भएको शर्माले बताए।
अधिकृत शर्माका अनुसार वैशाखसम्म गत वर्षभन्दा ६३ करोड २४ लाख बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास आयात घटेको छ भने गत आर्थिक वर्षभन्दा करिब एक अर्ब २७ करोड तीन लाख रुपैयाँ कम राजस्व संकलन भएको छ। एलपी ग्यास आयातबाट गत वर्ष ७९ करोड ६१ लाख रुपैयाँराजस्व असुली हुँदा चालू आर्थिक वर्षमा ७३ करोड ८३ लाख २६ हजार रुपैयाँमात्र राजस्व असुली भएको छ।
कार्यालयले गत आर्थिक वर्षभन्दा ७१ करोड ५५ लाख रुपैयाँकम राजस्व संकलन भएको जनाएको छ। गत आर्थिक वर्षको वैशाखसम्म दुई अर्ब ८४ करोड ४५ लाख रुपैयाँबराबरको पाँच करोड ५१ लाख ४३ हजार किलो चिनी आयात गरेको थियो।
यसबाट कार्यालयलाई एक अर्ब ६१ करोड चार लाख रुपैयाँ राजस्व असुली भएको थियो। चालू आर्थिक वर्षको १० महिनामा एक अर्ब ५७ करोड ६६ लाख रुपैयाँबराबरको दुई करोड ६२ लाख ९४ हजार ९८७ किलोग्राम चिनी आयात गरेको थियो। यसबाट कार्यालयलाई ८९ करोड ४९ लाख ५९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।
गत आर्थिक वर्षको वैशाखसम्म आठ अर्ब ३७ करोड ७१ लाखको १४ करोड ७५ लाख चार हजार ७६० किलोग्राम चामल आयात भएको थियो।