काठमाडौं । छिमेकी भारत र बंगलादेशले नेपालबाट २५ हजार मेगावाट बिजुली खरिद गर्ने भएका छन । भारतले आगामी सन २०३४ सम्म १५ हजार ६०० मेगावाट र बंगलादेशले सन् २०४० सम्म ९ हजार मेगावाट विद्युत खरिदको प्रतिबद्धता जनाएका हुन ।
नेपाल विद्युत प्राधिकरणले आगामी वर्षदेखि बिजुली बढी हुने र बजारको समस्या देखाइरहेका बेला भारत र बंगलादेशबाट यस्तो प्रतिवद्धता आएको हो ।
बिहीबारदेखि राजधानीमा सुरु भएको ऊर्जा सम्मेलनमा दुबै मुलुकले नेपालबाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका हुन । विद्युत खरिदका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिदेशिय विद्युत खरिदबिक्री सम्झौता हुँदैछ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले गत वर्ष भदौमा गरेको बंगलादेश भ्रमणमा त्यहाँका उच्च सरकारी अधिकारीले प्रतिबद्धता जनाएका थिए ।
उत्पादित विद्युत नेपालमा मात्रै खपत नहुने भएकोले भारत र बंगालादेशको बजार खोजी गर्नु परेको मन्त्री पुनले स्पष्टपारे । ‘नेपालमा जलविद्युतको अपार सम्भावना रहेको सन्दर्भ जोड्दै उनले भने, ‘बिजुली भारत, बंगलादेश पठाउन सके यस दिगो आर्थिक विकासको लक्ष्य पुरा हुन सक्छ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का उपाध्यक्ष कुमार पाण्डेले विद्युत विकास तथा बजार विस्तार गर्न त्रिपक्षीय समझदारी आवश्यक रहेको बताए । ‘निजी क्षेत्रले पनि विद्युतको बजार खोज्ने प्रयास गरेको छ, यसमा सरकारको सहयोग आवश्यक देखिन्छ,’ उनले भने, ‘निजी क्षेत्र र सरकारी प्रयासबाट मात्रै यहाँको विद्युत क्षेत्रीय बजारसम्म पुर्याउन सकिन्छ ।’
सम्मेलनमा नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेकोले यसका लागि नेपाल भारतको संयुक्त पहलमा जोड दिए ।
सम्मेलनमा बंगालादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्री नसरुल हमिद, भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्मा लगायतले नेपाल, भारत, बंगालादेश र भुटानबीच बिजुली आयात–निर्यातको सम्भावना रहेको बताए । ऊर्जासम्मेलनमा भारत, बंगालादेश, भुटानका मन्त्रीसहित ७ सय स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता रहेको छ ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा आयोजना निर्माण तथा ऊर्जा व्यापारका विषयमा १० सम्झौता भएका छन् । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र एनएचपीसी इन्डिया तथा भारतीय इनर्जी एक्चेन्ज र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालबीच सम्झौता भएको छ ।
उक्त सम्मेलनमा नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय विद्युत व्यापार तथा आयोजना निर्माण विषयमा महत्वपूर्ण १० सम्झौता हुँदै छन् । सम्मेलनमा भारतबाट केन्द्रीय विद्यत प्राधिकरण, केन्द्रीय विद्युत नियमन आयोग, पिटिसी इन्डिया, एनएचपिसी इन्डिया, सतलज जलविद्युत निगम, जीएमआर इनर्जीलगायतका प्रतिनिधिको उपस्थिति रहेको छ । विदेशी सहभागीमध्ये ७५ प्रतिशत भारत र बंगलादेशबाट मात्रै छन् ।
गत महिनामात्र नेपाल–भारतबीच बिजुली आयात–निर्यातका लागि न्यु बुटवल गोरखपुर ४ सय केभी प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको छ । त्यसअघि ढल्केबर–मुजफ्फरपुर अन्तदेशीय प्रसारण लाइन निर्माण भइसकेको छ ।