काठमाडौं। केटिएम ग्रुपको पहिलो पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिपको सफ्ट ओपनिङ साउनको पहिलो साता हुने भएको छ। असोजभित्रमा ग्राण्ड ओपनिङ गर्ने गरी सबै तयारी पूरा भएको रिसोर्टको पहिलो चरणमा सफ्ट ओपनिङ साउनको पहिलो साता गर्न लागिएको केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाहले जानकारी दिए।
१ अर्ब ५० करोडभन्दा बढी लगानीमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको रिसोर्टमा कूल ६५ वटा कोठा छन। यीमध्ये तीनवटा वाटर भिल्ला, एउटा मचान, एक्जुकेटिभ स्विट चारवटा, डिलक्स २७ वटा, सुपर डिलक्स ८ वटा र १८ वटा स्यान्डर्ड कोठा छन्। हरेक भिल्लामा फरक सेवासुविधा छन्।
एक्जुकेटिभ भिल्लामा निजी स्वीमिङ पुल छन्। वाटर भिल्ला पानी माथि बनाइएको छ। यसमा बस्नेहरूले भिल्ला वरिपरि नै बोटिङ, फिसिङ (माछा मार्ने) र हात्तीलाई पानीभित्रै लगेर पानी छ्याप्नेलगायत गतिविधि गर्न सक्नेछन्। रिसोर्टमा तीनतलाको मचान घर छ। यो घरमा हात्ती चढ्न पाइन्छ। होटलको व्यवस्थापन भने युरोपको लुभ होटल्स समूहले सम्हालिसकेको छ। होटल रोयल ट्यूलिप ब्राण्डमा नै सञ्चालन हुने छ।
लुभ होटल्स युरोपको दोस्रो ठूलो र विश्व बजारमा ११ वटा ब्राण्डमा होटल तथा रिसोर्ट सञ्चालनमा रहेको छ। नेपालमा भित्रिएको ब्राण्ड लुभ होटल्सको सबैभन्दा उच्चस्तरी लक्जरी ब्राण्ड हो। रिसोर्टभित्र १ फन्को लगाउदा १ किलोमिटरको ट्रेल हुन्छ। केटिएम हस्पिटालिटी सन् २०२० को जनवरीमा स्थापना भएको हो। रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको छ।
बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट
केटिएम ग्रुप होल्डिङ्गसअन्तर्गत सञ्चालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले १२ करोड ५० लाख रकम बराबरले हुन आउने १०० का दरले १२ करोड ५० लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
आईपीओ निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा केटिएम हस्पिटालिटी लिमिटेडबीच सम्झौता भएको छ। सर्वसाधारणमा जारी गर्नको लागि प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएकाे छ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मुख्य कार्यालय काठमाडाैंमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको उपस्थितिमा भएको सम्झौतापत्रमा केटिएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्तारक्षर गरेका छन्। आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंकको पूर्णस्वामित्वमा सञ्चालित संस्था हो।