काठमाडौं। नेपालको उत्तरी छिमेकीसँगको मुख्य व्यापारिक नाका रसुवागढीमा चीनमा आएको ठूलो वर्षासँगै उर्लिएको भोटेकोशीले दुई देश जोड्ने मितेरी पुल बगायो। योसँगै दुई देशबीच आयात निर्यातमा बाधा पुगेको छ। सोमबार राति आएको बाढीका कारण रसुवा हुँदै चीनसम्मको राजमार्ग विच्छेद भएपछि आयात निर्यात ठप्प भएको हो।
लगातारको भारी वर्षापछि बाढीका कारण रसुवा भन्सार हुँदै आयात निर्यातमा पूर्ण रूपमा अवरोध भएको छ। चीनतर्फको सडक अवरुद्ध हुँदा रसुवा नाकाबाट सामान आवतजावत ठप्प बनेको छ। जसको प्रत्यक्ष असर आगामी दशैं, तिहारलगायतका चाडपर्वमा पर्न सक्ने देखिएको छ।
रसुवा नाकामार्फत मुख्यतः चीनबाट लत्ताकपडा, विद्युतीय सामान, खेलौना, विद्युतीय सवारी साधनलगायत वस्तुको आयात हुँदै आएको थियो। तर, बाढीले पुल बगाएसँगै सडक भासिने, पहिरो झर्ने प्रकोपका कारण आवात जावत बन्द भएको छ। नेपालतर्फ आउँदै गरेका मालवाहक सवारी साधनहरू सडकमा रोकिएका छन्।
बाढीले पक्की पुल बगाउनुका साथै भन्सार र्याडमा भएको कन्टेनर र सुक्खा बन्दरगाहसमेत बगाएको छ। बाढीले चीनबाट आयात भएको ठूलो संख्यामा विद्युतीय सवारी साधन (इभी), ट्रकसमेत बगाएको छ।
यस पटकको बाढीले रसुवागढी नाका आसपासका सडक क्षतविक्षत बनाउनुका साथै मालवाहक कन्टेनरलाई लामो समय सीमा क्षेत्रमा रोक्ने छ।
नेपाल-चीन सीमा क्षेत्र आसपासको भौगोलिक संरचना कमजोर भएकाले सानो वर्षाले पनि सडक अवरुद्ध हुने समस्या विगतदेखि हुँदै आएको छ। यस पटकको बाढीले रसुवागढी नाका आसपासका सडक क्षतविक्षत बनाउनुका साथै मालवाहक कन्टेनरलाई लामो समय सीमा क्षेत्रमा रोक्ने छ।
चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सार कार्यालय विगतका १० वर्षअगाडिको अवस्थामा पुगेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्र प्याकुरेल बताउँछन्। ‘बाढीका कारण गाडीहरू र अन्य सामानहरू बगाएको छ। धेरै गाडीहरूलाई सुरक्षित ठाउँमा सार्ने प्रयास गर्दा पनि बगायो,’ उनले भने।
बाढीका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी भए पनि चिनियाँ सीमासँग सम्पर्क तोडिँदा व्यापारिक गतिविधिमा ठूलो प्रभाव पर्ने देखिएको उनको भनाइ छ।
चाडपर्वको मुखमा व्यापारमा असर
नेपाली चाडपर्व नजिकिँदै गर्दा बाढीका कारण चीनसँगको व्यापार सम्बन्धमा आएको अवरोधले बजारमा असर पार्ने देखिएको छ। बाढीले चीनबाट रसुवागढी नाका हुँदै आयात हुने कपडादेखि इभी गाडी, विद्युतीय सामग्रीसम्मको आपूर्ति ठप्प हुने भएको हो। बाढीले पुल बगाउँदा यसको असर नेपालीहरूको ठूलो पर्वहरूमा पर्ने निश्चित भएको छ।
नेपालमा साउनदेखि चाडपर्वका लागि चीनबाट सामान आयात हँुदै आएको छ। तर, बाढीले पुलसँगै सडकमा क्षति बनाउँदा चाडपर्वमा आवश्यक सामग्री बजारमा भित्रिन मुश्किल पर्ने छ। नेपाल ल्याउने तयारी भएका सामान चीनतर्फको गोदाममै थन्किने छन्।
निर्यात
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू वर्षको ११ महिना (साउन, भदौ र जेठसम्म)को तथ्यांकअनुसार चीनमा दुई अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। गत वर्षको सोही अवधिमा दुई अर्ब ४० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो।
राष्ट्र बैंकको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार चीनबाट नेपालमा मुख्य ४६ प्रकारका वस्तु तथा सेवा आयात भएको छ।
नेपालबाट मुख्यतयः ११ वस्तु चीन निर्यात हुने गरेका छन्। जसमा सबैभन्दा बढी अगरबत्ती, चाउचाउ, हस्तकला सामान, पस्मिना, तयारी पोशाक, छालाका तयारी सामान, रुद्राक्ष, चिया, उलन कार्पेटलगायत छन्।
वार्षिक आधारमा हेर्दा गत वर्षको असार मसान्तसम्म नेपालबाट दुई अर्ब ५८ करोड ८६ लाख बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो।
चीनबाट हुने आयात
राष्ट्र बैंकको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार चीनबाट नेपालमा मुख्य ४६ प्रकारका वस्तु तथा सेवा आयात भएको छ। यीमध्ये सबैभन्दा बढी आयात हुने मुख्य १० वस्तुमा टेलिकम्युनिकेसन एन्ड पार्टस, रेडिमेट गार्मेन्ट, टेक्सटायल, मेसिनरी एन्ड पार्टस, इलेक्ट्रिक वस्तु, केमिकल फर्टिलाइजर, कम्प्युटर एन्ड पार्टस, जुत्ताचप्पल, लसुन, स्याउ रहेका छन्।
यसबाहेक सवारी साधनका पार्टपुर्जा, टेलिभिजनका पार्टपुर्जा, मेडिकल औजारका पार्टपुर्जा, खेलौना, कच्चा शिल्क, कस्मेटिक सामान, औषधी, क्यामेरा, ब्याग, सोलार प्यानल, पाइप, ब्याट्रीलगायत चालू वर्षको ११ महिनामा तीन खर्ब १० अर्ब ५७ करोड बराबरको वस्तु तथा सेवा आयात भएको छ। गत वर्षको सोही अवधिमा दुई खर्ब ७२ अर्ब ८१ करोड बराबरको वस्तु तथा सेवा आयात भएको थियो।
इभी आयातमा धक्का
नेपालमा सबैभन्दा धेरै इभी रसुवा नाका हुँदै आउने गरेका छन्। सवारी साधन मुख्यतया चाडपर्वको समयमा बिक्री हुुने भएकाले व्यवसायीहरुले पनि चाडपर्वलाई लक्षित गरी आयात गर्ने गरेको पाइन्छ।
रसुवागढी भन्सारबाट मुख्यगरी बिवाइडी, एमजी, जेक्को जे ६ एक्सपेङ, रिडारा, स्काइवेल, कमर्सियलमा किङलङ र हाइगरलगायत विद्युतीय सवारी साधन भित्रिने गरेका छन्। रसुवागढी भन्सार कार्यालयबाट सबैभन्दा धेरै बिवाइडी र माइक्रोभ्यान आयात हुने गरेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी प्याकुरेल बताउँछन्।
गत रातिको बाढीले इभीको आयातमा पनि असर पुग्ने देखिएको छ। सवारी साधन आयातका लागि व्यवसायीहरुले कम्तिमा पनि ३ महिना अर्थात ६ महिनाअघि गाडी अर्डर गर्नुपर्ने हुन्छ।
रसुवागढी नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा ७ हजार ९११ युनिट इभी आयात भएको छ। साउनदेखि जेठसम्मको समयावधिमा रसुवा भन्सारबाट मात्र १८ अर्ब ७९ करोड रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएका छन्। उक्त आयातबाट सरकारले ११ अर्ब २१ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत रातिको बाढीले इभीको आयातमा पनि असर पुग्ने देखिएको छ। सवारी साधन आयातका लागि व्यवसायीहरुले कम्तिमा पनि ३ महिना अर्थात ६ महिनाअघि गाडी अर्डर गर्नुपर्ने हुन्छ। चाडपर्व र आगामी महिना हुने नाइमा मोबिलिटी र नाडा अटो शोका लागि व्यवसायीहरुले गाडी अर्डर गरिसके पनि बाढीले बाटो बन्द हुँदा यसको आयातमा धक्का पुगेको छ।
बाढीका कारण विद्युतीय सवारी साधनको आयातमा के कस्तो असर पर्छ? त्यो अहिले भन्न नसकिने साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ बताउँछिन्। ‘सरकारले एक महिनामा बाटो बनायो भने केही असर नगर्न पनि सक्छ आज नै केही भन्ने अवस्था छैन,’ उनी भन्छिन्।