काठमाडौं। नेपालमा यामाहा मोटरसाइकल बिक्री गर्दै आएको मोरङ अटो वक्र्स (एमएडब्ल्यु)ले नयाँ भन्दै पुराना मोटरसाइकल बिक्री तथ्य फेला परेको छ।
लामो समयसम्म नबिकेर गोदाममै थन्किएका मोटरसाइकललाई रंगरोगन गरेर नयाँ जस्तो बनाएर ग्राहकलाई झुक्याएर बिक्री तथ्यसहित उपभोक्ता अदालतमा उजुरी परेको छ। २०८१ असोज एमएडब्ल्यूले बेचेका मोटरसाइकल नयाँ भनिए पनि २०२२ मोडलका रहेको खुलेको हो।
नयाँ सरह मूल्य लिने र पूराना मोटरसाइकल भिडाएर पठाउने गरेको तथ्य नुवाकोटका लक्ष्मण थापाले उपभोक्ता अदालतमा उजुरी हालेपछि बाहिरिएको हो। एमएडब्ल्युले यामाहा कम्पनीको दुईपांग्रे सवारी साधान मोटरसाइकल नुवाकोटका थापालाई पुरानो मोटरसाइकल बिक्री गरेर नयाँको मूल्य लिएर धोकाधडी गरेको ठहर गर्दै अदालतमा उजुरी दिएका हुन्।
उक्त मोटरसाइकल खरिद गर्दाका बखद भन्सार प्रक्रियामा लु. ९२–पा–६७५ नम्वर भएको भएता पनि ब्लुबुक उपलब्ध गराउँदा तत्कालीन समयमा बजारमा चलिरहेको नयाँ लटको मोटरसाइकल नम्बर बाप्र ०२०५४ प ७२७४ हुने उल्लेख यामाहाले गरेको थियो।
तर मोटर साइकल खरिद गर्दा ब्लुबुक प्राप्त गर्दा उक्त मोटर साइकल सन् २०२२ मा बनेको उल्लेख गरेको पाइयो। ‘सो बारेमा के कसो भएको हो! भनी कम्पनीलाई जानकारी गराउँदा उक्त वर्षको अन्तिम तिर बनेको हो भनी बिक्रिकर्ताले थापालाई उक्त मोटरसाइकल यामाहा कम्पनीले १ वर्ष पहिले बनाएको भएता पनि हालै मात्र बजारमा लञ्च गरेको भनेर झुक्याएर बेचेका रहेछन्,’ उनले भने, ‘यसको डिमान्ड बजारमा अहिले अत्यधिक छ। यसमा कुनै कमी कमजोर छैन, भएमा सम्पूर्ण जिम्मेवारी बिक्रीकर्ता र कम्पनीले पनि लिन्छ, तपाई ढुक्क हुनुस्, भने तर मैले प्रयोग गर्न थालेको केही समयमा नै उक्त मोटर साइकल सेल्फ स्टार्ट नहुने, व्याट्रीले काम नगर्ने, रङ खुइलिने र पिकअप राम्रो नदिने र इन्जिनमा समेत समस्या आउन थालेको थियो।’
उनले गत वर्ष २०८१ असोज १९ गते सुन्तला रङको १४९.०९ एचपी/सीसीको मोटरसाइकल एक काठमाडौंबाट खरिद गरेका थिए। यसको मुख्य वितरक एमएडब्ल्यु हो। सो यामाहा कम्पनीको पिजेटएसबीएस सिक्स मोडल, च्यासिस नम्वर एमई वान आरजी ७३२ विएन ०००३०९४२ र इन्जिन नम्बर जि ३ एन ५ इ ०२९४५३१ रहेको मोटर साइकल एमएडब्ल्युले बिक्री गरेको थियो। बिक्रीकर्तालाई मोटर साइकल खरिद गर्दा ४ लाख ४५ हजार ९०० रुपैयाँ थापाले रकम तिरेका थिए।
मोटरसाइकल खरिद गर्दा इन्जिन, ब्याट्री लगायत सम्पूर्ण पार्टपुर्जामा १८ महिनासम्म पूर्ण रुपमा कम्पनीले वारेन्टी दिने एमएडब्ल्यूले भने पनि त्यसमा समेत धोका दिएको थापाको भनाइ छ। तर, मोटर साइकल नयाँ खरिद गरेको दिनदेखि नै केही घण्टा नचलाए पश्चात सेल्फ स्टार्ट नहुने, पिकअप राम्रो नदिने, धुवाँ बढी फाल्ने र माईलेज अनुसार प्यूल समेत बढी खर्च हुने समस्या देखिएको थापा बताउँछन्।
थापाले यामाहा कम्पनीको काठमाडौं आधिकारिक वितरक एमएडब्ल्युलाई आफूलाई परेको समस्याका बारेमा विस्तृतमा जानकारी गराउँदा पनि केही केही गर्न नसक्ने भन्दै वेवास्ता गरिएको थियो। एमएडब्ल्यूले अन्याय गरेका थापा न्याय खोज्दै अदालतसमक्ष पुगेका छन्।