काठमाडौं। ‘म नेपालभित्र तराईको खाना र नेपालबाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु। यो मेरो आफ्नो खानासँगको प्रेम हो’, मंगलबार साँझ नक्सालमा ‘जनकपुर फिस हाउस’को उद्घाटनका क्रममा बिबिसी मास्टर सेफ सन्तोष साहले भने।
साहले जनकपुरदेखि काठमाडौंसम्म मिथिला खानाको प्रचारप्रसार एवं प्रवर्द्धन गर्दै आएका छ भने देशबाहिर विभिन्न प्रकारका नेपाली खाना प्रवर्द्धन गर्दै छन्। देशबाहिर अमेरिकादेखि यूरोप, अष्ट्रेलिया, जापानसम्म उनले नेपालका विभिन्न समुदाय र जातिका मौलिक परिकार प्रवर्द्धन गरिरहेका छन्।
पछिल्लो समय उनले विभिन्न देशमा पप–अप सो आयोजना गर्दै आएका छन्। यसमा अधिकतम २० देखि २२ जना मात्रै सहभागी छन् भने साहले १७ कोर्ससम्मको परिकार पस्कन्छन्। उनको यो पप–अप सो अहिले विश्वका विभिन्न देशमा माग आइरहेको छ।
स्वदेशमा भने मिथिला थालीको प्रचारप्रसारमा काम गरिरहेका छन्। एक वर्षअघि काठमाडौंबासीलाई मिथिला परिकार खुवाउने उद्देश्यले लतिलपुरको झम्सीखेलमा ‘मिथिला थाली’ रेस्टुरेन्ट सुरु गरेका साहले त्यसपछि नक्साल र गौशालामा आउटलेट विस्तार गरेका थिए। राजधानीबासीलाई मिथिला थालीको स्वाद चखाएपछि उनले यतिबेला जनकपुरको स्वाद झल्कने माछाका परिकार ल्याएका छन्।
नक्सालको मिथिला थाली रेस्टुरेन्टमा सुरु गरिएको ‘जनकपुर फिस हाउस’मा माछाका परिकारमा जनकपुरको स्वाद पाउन सकिने उनको दाबी छ। जनकपुरमा जस्तै मोटो तावामा, सर्सिउँको तेलमा तारेको माछालाई धेरैले मन पराउनेमा सेफ साह विश्वस्त छन्। फिस हाउसमा ओपन किचन हुनेछ।
फिस हाउसमा करिब १० प्रकारका माछाका परिकार पाइनेछ। स्पेसल तावा फिस, सानो जनकपुरी मुरी र मुलाको अचारसँगै चाख्न पाइनेछ। ट्राउट, झिँगे माछा, फिस चिली, फिस सेट जस्ता परिकार पनि उपलब्ध छन्। सबै परिकार जनकपुर र मिथिलाको पारम्परिक स्वाद र शैलीमा तयार पारिन्छन्।
जनकपुर फिस हाउसमा पेय पदार्थ पनि सुलभ मूल्यमै उपलब्ध गराइएको सेफ सन्तोषको भनाइ छ। यसअघि सेफ शाहको ‘मिथिला थाली’ देशभर निकै लोकप्रिय बनिसकेको छ। मिथिला थालीको शाखा जनकपुरसँगै काठमाडौंको नक्साल गैरीधारा, गौशाला र झम्सिखेलमा खुलिसकेको छ।