काठमाडौं। राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षीय योजना बनाउने तयारी थालेको छ। आगामी आर्थिक वर्ष १५औं पञ्चवर्षिय योजनाको अवधी सकिने भएकाले आयोगले १६औं योजनाको तयारी थालेको हो।
योजना तर्जुमा गर्न आयोगले विभिन्न निकाय तथा सरोकारवालासगँ सुझाव लिनेछ। आयोगले राष्ट्रिय स्तरका साथै प्रदेश तथा स्थानीय तहका सरोकारवालासँग अन्तरक्रिया गरी सुझाव प्राप्त गर्ने आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले जानकारी दिए।
त्यसैगरी निजी, सरकारी, सहकारी क्षेत्रका साथै विकास साझेदारसँग समेत छलफल गरी सुझाव संकलन गरिने आयोगले जनाएको छ। आयोगका अनुसार अवधारणपत्र तयारी सन्दर्भमा विभिन्न ७ वटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको छ।
योजनाको अवधारणापत्र तथा पूर्ण दस्तावेजमाथि छलफल गरी सुझाव एवं परिमार्जन र स्वीकृति प्रदान गर्न योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधहरूका साथै सहकारी र निजी क्षेत्रसमेतको संलग्नतामा निर्देशक समिति रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार योजना तर्जुमाका लागि आयोगका सदस्यको संयोजकत्वमा सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरू रहेको ५ वटा विषय क्षेत्रगत समिति रहेका छन्।
प्राविधिक समितिहरू योजना तर्जुमा गर्ने क्रममा विषय क्षेत्रगत समन्वय, सहयोग र सहजीकरण तथा प्राविधिक विषयका कार्यसम्पादन गर्न महाशाखा प्रमुखको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि र प्राविधिक समिति रहेको श्रेष्ठले जानकारी दिए।