काठमाडौं। इन्भाइरोमेन्टल, सोसल एन्ड गभर्नेन्स (इएसजी) सँग सम्बन्धित गतिविधि सञ्चालनका लागि संयुक्तरूपमा सहकार्य गर्ने गरी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), डोल्मा कन्सल्टिभ र इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) बीच सम्झौता भएको छ।
सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान, डोल्मा कन्सल्टिभका प्रबन्ध निर्देशक जोसेफ सिल्भानस र आइआइएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे। लगानीकर्ता संस्था/कम्पनीले लगानी गर्दा वातावरणीय, सामाजिक र सुशासन क्षेत्रमा देखिने जोखिमको अध्ययन, मूल्यांकन, सुधार तथा व्यवस्थापनजस्ता साझा हितका कार्य संयुक्तरूपमा सहकार्य गर्ने सम्झौताको मुख्य उद्देश्य छ।
प्राकृतिक स्रोत संरक्षण, हरितगृह ग्यास उत्सर्जन, विषाक्त फोहोर व्यवस्थापन, जलवायु नीति एवं वातावरणीय नियमहरूको पालना, ऊर्जा प्रयोग, फोहोर, प्रदूषण, सामाजिक रूपान्तरणसहित उत्तरदायित्व वहन, जातीय, लिंग, र यौन भेदभाव, समावेशीकरण, स्वास्थ्य एवं सुरक्षा, संस्था/कम्पनीको आन्तरिक सुशासन र सेयरधारकप्रति जिम्मेवारी तथा उत्तरदायित्वलगायतका क्षेत्रमा लगानी प्रभावका विषयमा कार्याशाला गोष्ठी, सेमिनार, अन्तरक्रियाजस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी संस्था÷कम्पनीले लगानी गर्दा ध्यान दिनुपर्ने विषयमा सचेतना अभिवृद्धिसहित वातावरणीय, सामाजिक तथा सुशासनको प्रवर्द्धनमा जोड दिने सम्झौतामा उल्लेख छ।
नेपाल राष्ट्र बैंक, विकास वित्तीय संस्थासहित अन्य सहयोगी एवं साझेदार संस्थासँग समेत सहकार्य गरी पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन प्रणाली (इएसएमएस), र विश्वव्यापी उत्कृष्ट अभ्याससम्बन्धी नीतिगत विषयमा सार्वजनिक–निजी बहस तथा पैरवी गरी कार्यान्वयन तथा सुधारका लागि सम्बन्धित निकायमा पहल गरिनेसमेत सम्झौतामा जनाइएको छ।
सम्झौताअनुसार सिबिफिनले कुनै आर्थिक व्ययभार नपर्ने गरी बैंक तथा वित्तीय क्षेत्र सुधार एवं दिगो विकासका लागि सार्वजनिक–निजी संवाद, अध्ययन तथा अनुसन्धानका गतिविधि सञ्चालन, ग्रिन फाइनान्सिब, लगानीका क्षेत्रका पहिचान, पुँजी निर्माण तथा लगानी प्रवद्र्धन, उत्पादनमुलक, रोजगारमुलक र निर्यातमूलक क्षेत्रमा लगानी विस्तार, एसएमइजको प्रवद्र्धन र वित्तीय समस्या समाधानजस्ता विषयमा बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी बहस पैरवी गर्नेछ। यस्ता गतिविधिले बैंक तथा वित्तीय संस्था व्यवस्थापन तथा सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्नुका साथै संस्थागत प्रोफाइल बढाउनसमेत टेवा दिने अपेक्षा गरिएको छ।
त्यसैगरी डोल्मा कन्सल्टिभले स्रोत व्यवस्थापन, इएसजी गतिविधिलाई दिगो बनाउन क्षमता विकासका गतिविधि तर्जुमा, सञ्चालन, व्यवस्थापन, अनुगमन तथा मूल्यांकनसहित जानकारी आदानप्रदान गर्ने कार्य गर्नेछ भने आइआइएनले समग्र गतिविधि कार्यान्वयनका समग्र पर्यवेक्षण, स्रोत पहिचान तथा परिचालन, इएसजीको प्रवर्द्धन गर्न आवश्यक अन्य वकालतका कार्य गर्नेछ। सरकारको प्रचलित कानुनको अधिनमा रही सम्पन्न गरिएको उक्त सम्झौतापत्र प्रारम्भिक चरणमा एक वर्षका लागि कायम रहने र आवश्यकता एवं औचित्यका आधारमा त्रिपक्षीय सहमतिमा थप अवधि विस्तार गरिने छ।
सिबिफिनको कार्यालय सुन्धारामा गरिएको उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा सिबिफिनबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, महासचिव राजनसिंह भण्डारी, कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली, महानिर्देशक गोपालप्रसाद तिवारी, डोल्मा कन्सल्टिभबाट लगानी निर्देशक दीपेन्द्र श्रेष्ठ र आइआइएनबाट रोशनी काफ्ले उपस्थित थिए।