काठमाडौं।
भिजिट भिसा सेटिङ बन्द गर...
बन्द गर, बन्द गर!
अध्यागमनका महानिर्देशक राजीनामा दे...
राजिनामा दे, राजिनामा दे!
अध्यागमनको ज्यादती बन्द गर...
बन्द गर, बन्द गर!
यो नाराबाजीको माहोल हो आइतबार कालिकास्थानस्थित अध्यागमन विभाग अघिल्तिरको।
सबै सरकारी प्रक्रिया पुर्याइ वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई बिनाकारण विमानस्थलबाट फर्काएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाउँदै विभागका महानिर्देशकको राजीनामा समेत मागे।
२०८० असार २७ मा भिसालगायत कागजपत्र शंकास्पद भएको भन्दा अध्यागमनले १ सय १७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको थियो।
असार २७ गते कागजपत्र शंकास्पद भनिएकै मध्ये नौजनालाई अध्यागमनले शुक्रबार बिहान भने कुवेत जान अनुमति दियो।
फेरि, असार ३० मा कुवेत जान लागेका ३७ जनालाई अध्यागमनले विमानस्थलबाटै फर्कायो।
यही विरोधमा वैदेशिक रोजगार व्यवसायी आन्दोलित बनेका हुन्। अध्यागमनले यसअघि पनि विभिन्न कारण देखाइ वैदेशिक रोजगार व्यवसायी र श्रमिकलाई दुःख दिने गरेको र यसपटक भने ज्यादती नै गरेको वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।
‘असार २४ गते जोर्डन जाने १५ जनालाई अध्यागमनले बिनाकारण रोक्यो। त्यसयता अध्यागमनले हामी र श्रमिकलाई बारम्बार दुःख दिइरहेको छ,’ अध्यक्ष भण्डारीले क्यापिटल नेपालसँग भने, ‘अनलाइनमा भिसा प्रष्ट हेर्न सकिन्छ। श्रमिकलाई फर्काएपछि त्यसको कारण अध्यागमनले दिन सकेको छैन।’
अध्यागमनले अहिलेसम्म २ सयभन्दा धेरै श्रमिकलाई बिनाकारण फर्काएको भण्डारीको दाबी छ।
‘एउटै देश, एउटै कामको स्वीकृति लिएका केही श्रमिक गएर काम गर्न थालिसके। बाँकीलाई रोकेर दुःख दिनुमा बदनियत देखियो। उहाँहरूले के खोजेका हामीले बुझ्न सकेका छैनौं,’ उनले भने।
श्रमिक पठाउँदा अध्यागमनले ‘सेटिङ’ गर्ने गरेको उनको आरोप छ। ‘सेटिङ नभए, एक वर्षभित्र ५०/६० हजारको संख्यामा गाउँबाट चप्पल लगाएर आएका गरिब युवालाई भिजिट भिसामा कसरी पठाइयो? विभिन्न बिचौलियाले श्रमिकलाई दुबई पठाउने र त्यहाँबाट च्यानल मिलाएर अरू ठाउँमा पठाउने गरेका छन्,’ उनले भने, ‘यस्तो गैरकानुनी काम अध्यागमनले हाम्रो टाउकोमा हाल्न खोजेको? त्यो उनीहरूले नै सेटिङ गरेर पठाएको होइन?’
![356578751_503799821923527_1614311343323775848_n1689512997.jpg](https://www.capitalnepal.com/uploads/posts/356578751_503799821923527_1614311343323775848_n1689512997.jpg)
यो समस्या लिएर श्रम तथा रोजगार मन्त्रालय, गृह मन्त्रालय र विभाग धाउँदा पनि समाधान नभएको भण्डारीले बताए।
‘हामी त गल्ती गर्नेलाई कारबाही होस् भनेर हारगुहार गरिरहेका छौं। तटस्थ व्यक्तिहरू राखेर एउटा समिति बनाइ दोषीलाई कारबाही होस् भन्नेमात्र हाम्रो माग हो। हामी गलत भए सजाय भोग्न तयार छौं,’ उनले भने।
भिसालगायत कागजपत्र शंकास्पद देखिएका कारण श्रमिकलाई फर्काइएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसाल बताउँछन्।
‘भिसाा शंकास्पद देखिएपछि छानबिन गर्न फर्काएका हौं। अनुसन्धानका क्रममा केही भिसा नक्कली भएको प्रमाण भेटिसकेका छौं। छानबिनको क्रम जारी नै छ,’ उनले भने, ‘एउटै व्यक्तिको नाममा धेरै भिसा लिइएको भेटेका छौं। त्यसबाहेक अन्य प्रमाण पनि खोजिरहेका छौं।’