काठमाडौं । मुलुकलाई दुई दर्जन वस्तुमा आत्मनिर्भर बनाउन सरकार जुटेको छ । कुन कुन वस्तुमा आत्मनिर्भर भन्न सकिन्छ भनेर उद्योग मन्त्रालयले अध्ययन नै सुरु गरेको छ ।
चालू आर्थिक वर्षको बजेटमै सरकारले आगमी दुई वर्षभित्र २४ ओटा वस्तुमा आत्मानिर्भर बन्ने घोषणा गरेको थियो । सोही घोषणालाई सार्थकतामा परिणत गर्न उत्पादनको खोजी कार्य सुरु गरेको उद्योग सचिव यामकुमारी खतिवडाले जानकारी दिइन् ।
कुन कुन उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर उद्योग मन्त्रालयले निजी क्षेत्रसँग सूची मागेको बताइन् । ‘सरकारले आफ्नो तवरबाट सूची बनाइरहेको छ भने निजी क्षेत्रबाट पनि सूची मागेका छौं,’ उद्योग सचिव खतिवडाले भनिन्, ‘सरकार र निजी क्षेत्र मिलेर सूची तयार पार्छौ ।’
तत्कालै आत्मनिर्भर बन्न सक्ने क्षेत्र कुन कुन हुन् । केही समय पछि आत्मनिर्भर बन्न सक्ने क्षेत्र कुन कुन हुन् । निजी क्षेत्रले त्यसको विस्तृत विवरण पठाएपछि सरकारले आवश्यक प्रक्रिया थाल्ने खतिवडाले बताइन् । सरकारले के गर्याे भने आत्मनिर्भर बन्न सकिन्छ ? त्यस बारेमा सरकारले विशेष पहल गर्छ । के के सुविधा दिनुपर्छ ? अहिले के के कुराले उत्पादन गर्न रोकेको छ । त्यसमा सरकारले पहल गर्ने खतिवडाले बताइन् ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले सरकारले थोरै मात्रै सहयोग गरे तत्कालै एक दर्जन वस्तुमा आत्मनिर्भर बन्न सक्ने बताए । ‘अहिले उद्योग क्षेत्रमा धेरै समस्या छन्, यही अवस्थामा कुनै पनि क्षेत्रमा आत्मनिर्भर बन्न सकिन्न’ मोरले भने, ‘अहिले आत्मनिर्भर भएको उत्पादन पनि परनिर्भर हुने सम्भावना बढेको छ ।’
‘उद्योगीको समस्या बोकेर मन्त्रालय–मन्त्रालयमा म जान्छु’
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले उद्योगको समस्या बोकेर विभिन्न मन्त्रालयमा आफै पुग्ने बताएका छन् ।
‘उद्योगीले अहिले विद्युत्को समस्या भोगिरहेका छन्, ब्याजको समस्याबाट गुज्रिरहेका छन्,’ उद्योग राज्यमन्त्री दुगडले भने, ‘अब उद्योगीले हरेक समस्या बोकेर उद्योग मन्त्रालयमा आए हुन्छ, यहाँबाट म फाइल बोकेर जान्छु ।’
‘देशमा उद्योगी÷व्यवसायीका जे जति समस्या छन्, ती सबै समस्या मेरा हुन्,’ पाँचौ उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा दुगडले भने, ‘देशमा उद्योगको विकास गर्ने जिम्मा मेरो काँधमा आएको छ । त्यो पूरा गरेर देखाउँछु । यदि देखाउन सकिन भने मलाई असफल घोषित गरिदिनुहोला ।’ उद्योगराज्य मन्त्री दुगडले आफूमातहतको रहेका संस्थानलाई घाटामा समेत जान नदिने प्रतिवद्धता जनाए ।