काठमाडौं । सरकारले चालू आार्थिक वर्षदेखि ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाए पनि ट्रक व्यवसायीले त्यसको अवज्ञा गर्दै आएका छन् । उनीहरुले भ्याट तथा स्थायी लेखा नम्बर (प्यान) बिल बिनै कारोबार गरिरहेका छन् ।
सरकारले ल्याएको अनिवार्य भ्याट तथा प्यान नीतिलाई कार्यान्वयन गर्न नसकिने भन्दै ढुवानी व्यवसायीहरुले बिना बिल कारोबार गरिरहेका हुन् । तर, सरकारले बार्षिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने ट्रक व्यवसायी अनिवार्य रुपमा प्यानमा दर्ता हुन भनेको छ । त्यस्तै ५० लाख माथि कारोबार गर्ने ट्रक व्यवसायीले अनिवार्य रुपमा भ्याट बिल मार्फत कारोबार गर्नुपर्ने अर्थ मन्त्रालयले बताएको छ ।
‘चालू आर्थिक वर्षको बजेटमा उक्त व्यवस्था आइसकेको छ,’ अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले भने, ‘यदि कसैले कार्यान्वयन गरेका छैनन भने उनीहरुलाई कारबाही हुन्छ ।’ व्यवसायीका अनुसार एउटा ट्रकले बार्षिक ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार गर्दै आएका छन् । अहिले देशभर ५० देखि ६० हजार ट्रक व्यवसायी छन् । यसलाई आधार मान्दा ट्रक व्यवसायीहरुले बार्षिक २ खर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार गरिरहेका छन् ।
सम्पूर्ण व्यवसाय करमा दायरमा नआउदा करोडौ राजस्व राज्यले गुमाइरहेको छ । आन्तरिक राजस्व विभागका अनुसार केहि ट्रक व्यवसायी प्यान तथा भ्याटमा दर्ता भएका छन् । ‘तर, जति हुनुपर्ने हो त्यति भएका छैनन्,’ विभाग स्रोतले भन्यो, ‘दर्ता नभइ कारोबार गर्नेलाई सरकारले कानुनी दायरामा ल्याउँछ ।’
ट्रान्सपोर्टरहरु प्यान तथा भ्याटमा कारोबार गर्न तयार भए पनि ट्रक ढुवानी व्यवसायीहरु भ्याट तथा प्यानमा जान तयार भएका छैनन् । उनीहरुले प्यान तथा भ्याट बिल बिनै धमाधम सामान ओसार पसार गरिरहेको व्यवसायीहरु बताउछन् । ‘अहिले मुलुकभर रहेका ट्रक व्यवसायीले बिना बिल कारोबार गरिरहेका छन् । ट्रकवालासँग प्यान तथा भ्याट बिल माग्दा उनीहरु दिँदैनन्,’ एक उद्योगीले भने, ‘भोलि सरकारले मिसम्याचमा कारबाही गर्न सक्छ ।’
मन्त्रालयका सचिव ढुङ्गानाले प्यान र भ्याटमा कारोबार नगर्ने ट्रक व्यवसायीलाई कारबाही गर्ने बताए । उनीहरुलाई प्यान तथा भ्याटमा दर्ता हुने समय पनि दिइएको हो । उनले भने ‘त्यो समयभित्र प्यान तथा भ्याटमा नजाने ? अहिले आएर प्यान/भ्याट बिल बिनै कारोबार गर्न पाइदैन ।’
सरकारको निर्देशन आएपछि केही महिना अघिसम्म ढुवानी ठप्प पार्ने चेतावनी दिँदै हिडेका व्यवसायी अहिले ढुवानी गर्न थालेका छन् ।