सिडनी। गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको भोलि शनिबार हुने निर्वाचनलाई लिएर कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङको प्रतिक्रियाले चर्को विवाद सिर्जना गरेको छ।
सत्तारुढ नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले शुक्रबार डेमोक्रेटको भेलालाई जुममार्फत सम्बोधन गर्ने क्रममा पार्टीको आधिकारिक उम्मेदवार भन्दै डिला खरेलको नाम घोषणा गरेपछि कांग्रेस समर्थक एनआरएन रुष्ट बनेका हुन्।
निर्वाचनमा खरेल र अनिल पोखरेल डेमोक्रेट तथा प्रगतिशील समूहको प्रतिनिधित्व गर्दै देव गुरुङले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका छन्।
डेमोक्रेट नै दुई समूहमा विभाजित भएर चुनावमा उत्रिएका बेला मन्त्री गुरुङको प्रतिक्रियाले एनआरएन अभियान नै विवादमा फसेको अस्ट्रेलियामा बसोबास गर्ने नेपाली सामाजिक अगुवाहरूले बताएका छन्।
काग्रेस समर्थित डेमोक्रयाटबाटै दुई प्यानलको उम्मेदवारी परेपछि विवाद समाधानार्थ नेपाली कांग्रेस जनसम्पर्क समिति, अस्ट्रेलियाको जुम बैठकमा मन्त्री गुरुङले पोखरेललाई उम्मेदवारी फिर्ता लिन दबाब दिएको सहभागीले बताएका छन्।
बैठकमा सहभागीका अनुसार मन्त्री गुरुङले ‘पोखरेललाई उम्मेदवारी फिर्ता लिई आधिकारिक उम्मेदवार खरेल र उनको टिमलाई सघाउन’ निर्देशन दिएका थिए। ‘पहिला नै सबै पक्ष बसेर छलफलबाट निर्णय भइसकेको थियो। डिला खरेलजी पार्टीको आधिकारिक उम्मेदवार हो। उहाँलाई जिताउन सबै डेमोक्रयाटहरू एकजुट भएर लाग्नुस,’ मन्त्री गुरुङलाई उदृत गर्दै एक सहभागीले भने।
एक दशकभन्दा लामो समयदेखि सिड्नीमा बसेर पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार हेमन्तराज काफ्लेले एनआरएन अभियानमा मन्त्री गुरुङको हस्तक्षेप आपत्तिजनक रहेको बताए।
‘एनआरएन भनेको देशको विकास र समृद्धिमा सघाउने र विभिन्न देशमा बसेर जीविकोपार्जन गरिरहेका नेपालीको हकहित सम्वर्द्धनमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो,’ कांग्रेस समर्थित पत्रकार काफ्लेले भने, ‘मन्त्री गुरुङको यो हर्कतले विदेशमा पनि नेपालीलाई पार्टी र गुटका नाममा थप विभाजित गर्ने दुश्प्रयासमा मलजल गरेको छ। यो घोर आपत्तिजनक छ। एनआरएन अस्ट्रेलियाका सदस्य कुनै पनि अमुक दलका दास होइनन, मन्त्रीको निर्देशन मान्य छैन।’
मन्त्री खरेलबाट आधिकारिक उम्मेदवारको हैसियत पाएका खरेलले भने गुरुङले शुभकामनामात्र दिएको बताए। उनले भने, ‘एनआरएनमा नेपालका कुनै पनि पार्टीको कुनै प्रत्यक्ष सम्बन्ध हुँदैन। एनआरएनले नेपालमा सम्बन्ध राख्ने भनेको परराष्ट्र र कानुन मन्त्रालयसँग हो। कानुनमन्त्री भएको नाताले मन्त्रीज्युले जुम मिटिङमा सामान्य ढंगमा शुभकामना दिनुभएको हो। यसलाई आधिकारिक भन्ने कि नभन्ने आ–आफ्नो बुझाइको कुरा हो। मेरो बुझाइमा यो शुभकामनामात्र हो।’
अध्यक्ष पदका अर्का डेमोक्रयाट उम्मेदवार पोखरेलले आफू चुनावमा मात्र केन्द्रित रहेको बताउँदै त्यस्ता विवादित विषयमा ध्यान दिन नभ्याएको प्रतिक्रिया दिए।
‘हामी लिबरल मान्छे हौं। चुनावमा यस्ता कुरा आइरहन्छन्। यसलाई धेरै महत्व दिएर प्रतिक्रियावादी हुनु जरुरी छैन। म निर्वाचन तयारीमा व्यस्त छु। अहिले मैले यस्ता विषयमा ध्यान दिन भ्याएको छैन। स्थानीयस्तरमा मिलौं, छोडौं भन्नेजस्ता प्रस्ताव आइरहन्छन्। छलफलहरु चलिरहन्छन्,’ पोखरेलले भने।