काठमाडौं। ग्रीसको भोलसमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली दुई युवाले तेस्रो स्थान हासिल गरेका छन्।
गत जुलाइ २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालका तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जित्दै अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो स्थान हासिल गरेका हुन्।
यसअघिको संस्करणमा पनि नेपाली युवा अंकित सुवेदी र अजर गुरुङले तेस्रो स्थान नै ल्याएका थिए। त्यतिबेला ४२ देशको सहभागिता थियो।
अहिले भने उक्त प्रतियोगितामा नेपालसहित ४८ देशका विद्यार्थीको सहभागिता थियो। जसमध्ये नेपाली युवाले ४५ देशलाई पछि पारेका हुन्।
उक्त प्रतियोगिताको विजेता भने क्यानडाका डेनियल जान र उपविजेता टर्कीका अल्प एलचिन छन्।
नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा २०२२ को डिसेम्बरमा र राष्ट्रिय प्रतिस्पर्धा २०२३ को फेब्रुअरीमा सम्पन्न भएको थियो।
जसमध्ये पाँच उत्कृष्ट प्रतिस्पर्धी अनुभव ढुङ्गाना, अनुस्का सुवेदी, भागर्भ चटौत, भिक्टर हमाल र मयङ्क शंकर झाले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिएका थिए।
तीमध्ये हमाल र चटौतले तेस्रो स्थान हासिल गर्दै ब्रोन्ज मेडल ल्याएको नेपाल इकोनोमिक्स ओलम्पियाडका निर्देशक तथा टिम लिडर दीपक भण्डारीले जानकारी दिए।