काठमाडौं । आफ्नो सामान्य काम पनि उद्योग विभागका कर्मचारीले नगरेपछि उद्योगी मोतिलाल दुगडले विभागका महानिर्देशक जीवन सिटौलालाई फोन गरे ।
कानून सम्मत हुनुपर्ने काम पनि नभएपछि उनले महानिर्देशक सिटौलालाई जानकारी गराउनलाई उनले फोन गरेका थिए । तर, सिटौलाले ‘आफू मिटिङमा व्यस्त भएको र पछि कल गर्ने’ भन्ने म्यासेज पठाए । तर, उनको फोन भने आएन ।
सोही दिन बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले तिनै मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाएर पठाए । र दुगडको स्वागतका लागि मन्त्रालयका कर्मचारीहरु त छँदै थिए, आफ्नो फोन नउठाउने विभागका महानिर्देशक पनि त्यही देखिए ।
फूलको गुच्छा दिनेक्रममा सिटौलाको पालो आयो । र, त्यही बेला दुगडले सिटौलालाई भने ‘फोन पनि उठाउनु भएन्, पछि कल पनि गर्नु भएन’ । जवाफमा सिटौलाले ‘मिटिङमा परेको बेला भएकाले त्यो बेला कल रिसिभ गर्न सकिन, पछि गर्न लागेको थिए, तपाई मन्त्री बनेर आउँदै हुनुहुन्छ भन्ने थाहा पाए, यही कुरा गरौला भनेर फोन गरिन ।’
मारवाडी सेवा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री दुगडले आफूले भोगेको अनुभव सुनाएका हुन् । ‘सरकारी कर्मचारीले आफूलाई हाकिम दर्जामा राख्ने र सेवाग्राहीलाई नोकर चाकरको व्यवहार गर्ने गर्छन्,’ दुगडले भने, ‘सरकारी कर्मचारी हाम्रा सेवक हुन्, हाकिम होइनन्, यदि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कुनै पनि कर्मचारीले हामिक जस्तो व्यवहार गरे, तत्काल मलाई भन्नुहोला ।’
‘मैले यो कुरा उद्योग विभागका महानिर्देशक सिटौलालाई पनि भनिसकेको छु । आफूलाई हाकिम नसम्झिनुहोला’ दुगडले भने, ‘आपूm मातहतको विभाग वा कार्यालयले सेवाग्राहीलाई दुख दिने होइन्, प्रोत्साहित गर्ने काम गर्नुपर्छ । त्यही हुन्छ ।’
देशमा औद्योगिक वातावरण बिग्रिँदै गएको छ । उद्योगी व्यवसायी सम्पन्न नभई देश सम्पन्न हुँदैन । देशमा थप लगानी नभित्रि रोजगारीको सिर्जना हुँदैन ।

केही समयदेखि देशमा नयाँ लगानी नभित्रिएको र त्यसको मुख्य कारण भनेकै नीति नियम र सरकारी कर्मचारीको व्यवहार भएको दुगडको भनाइ छ ।
मारवाडी सेवा समितिका अध्यक्ष श्रवणकुमार अग्रवालले सरकारले ल्याएका अनेकन नीतिका कारण व्यवसाय गर्न कठिन हुँदै गएको बताए । ‘तीन तहको सरकार बनेपछि तीन तहमै कर लगाउन थालेका छन्,’ अग्रवालले भने, ‘एउटै उत्पादनमा केन्द्र सरकारले पनि कर लगाउने, स्थानीय तहले पनि कर लगाउने र प्रदेशले पनि कर लगाउने काम भइरहेको छ ।’
‘संविधानको मर्मविपरीत हुँदा पनि कसैले केही गर्न सकेका छैनन । यस्तो अवस्थमा कसरी व्यवसाय सञ्चालन गर्न सकिन्छ ?’ उनले भने, ‘मोतिलाल दुगड आफै उद्योगी हो, तपाईले जति हाम्रो समस्या कसैले बुझ्दैन, यस्ता समस्या समाधान गर्न पहल गर्नुहोला ।’ मारवाडी सेवा समितिका उपाध्यक्ष कमलेश अग्रवालले सरकारले ल्याएका नीति नियमले व्यवसाय गर्न अप्ठयारो पारेको बताए ।