काठमाडौं। काठमाडौं महानगरपालिकाले पानीपुरी–चटपटे बिक्रीमा रोक लगाउने विषयमा छलफल अघि बढाएको छ।
महानगर बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने तर्क राखे।
‘पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको छन्। यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकाले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने हुन सक्छ,’ उनले भने, ‘खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत हो। यसलाई तत्काल रोक लगाउनुपर्छ।’
बैठकमा वडाध्यक्ष एवं अनुगमन मूल्यांकन समिति सदस्य राजेन्द्र मानन्धरले फाल्नुपर्ने तरकारी र फलफूल बेचबिखनमा तत्काल रोक लगाउनुपर्ने बताए।
बैठकमा यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा। अवधेश झाले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने बताए।
‘कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड छ। यसविपरीतका जार जफत र नष्ट गरिएको हो,’ उनले भने।
डा. झाका अनुसार काठमाडौंमा १ सय ५० भन्दा धेरै जारको पानी वितरक छन्। यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था नरहेको उनले बताए।
खुलारूपमा बेचिने खानेकुरा, पेयपदार्थ, तरकारी र फलफूल बजारमा निगरानी बढाउनुपर्ने महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताइन्।
बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलाप अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन उनले निर्देशन दिएकी छिन्।
‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेयपदार्थबाट चाँडो संक्रमण फैलिन्छ। यसका स्रोत मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्,’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो। मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारबाहीको दायरामा ल्याउनुपर्छ।’