काठमाडौं। काठमाडौंस्थित भारतीय दूतावासले ७७औं स्वतन्त्रता दिवस मनाएको छ। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रम सुरु गरे।
राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए।
कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो।
उनले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीले गरेका बलिदान स्मरण गरिन् र देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धीबारे चर्चासमेत गरेकी थिइन्।
उनले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको भन्दै विकास एवम मानवीय लक्ष्यलाई विश्वभरि प्रवर्द्धध गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन्।
उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी–२० को अध्यक्षताबारे उल्लेख गरिन्।

यही अवसरमा भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ३३ लाख रुपैयाँ वितरण गरिएको दूतावासले जनाएको छ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए।

यो उत्सव भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षण स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा सुरु गरेको ‘आजादीका अमृत महोत्सव’ को एक हिस्साका रूपमा रहेको दूतावासले जनाएको छ।