काठमाडौं । नेपालका बैङक तथा वित्तीय संस्थामा अध्यक्षहरु ठूला व्यवसायी रहेका छन् । पब्लिक कम्पनी भए पनि बैङ्कमा अध्यक्षको निर्णय पावरफुल हुन्छ । बैङ्कको ग्ल्यामरसमा रहेका व्यवसायीहरुले आफ्नो ग्ल्याम कायम राख्न पनि अहिले मर्जरमा जानका लागि चासो देखाएका छैनन् ।
बैङ्कको मर्जपछि अध्यक्ष पद एउटा हुने र एक जना मात्र अध्यक्ष हुने भएकाले बैङ्ककै सञ्चालक समितिले मर्जमा जानका लागि पहल नथालेको हुन सक्ने राष्ट्र बैङ्कको अनुमान छ । अध्यक्ष मात्र होइन, प्रमुख कार्यकारी अधिकृतको समेत पद गुम्ने भएपछि सञ्चालक समिति र व्यवस्थापन दुवैले मर्जका लागि चासो नदेखाएको राष्ट्र बैङ्कका एक निर्देशकले क्यापिटल नेपाललाई बताए । ‘खासमा भन्ने हो आफ्नो पदकै कारण अहिले उनीहरुले नै मर्ज जान असहयोग गरेका छन्,’ उनले भने ।
राष्ट्र बैङ्कले वित्तीय अवस्था कमजोर भएका बैङ्कलाई लक्षित गरेर एकआपसमा गाभिन निर्देशन दिए पनि आफ्नो पद जोगाउनकै लागि मर्जमा नलैजान प्रमुख कार्यकारी र बैङ्कका अध्यक्ष नै लागेको सिभिल बैङ्कका एक सञ्चालक स्विकार्छन् । ‘बैङकको अध्यक्षको सुविधा र त्यसको ग्ल्यामरसकै कारण हामीले मर्जमा जानुपर्छ भन्दा पनि अहिलेसम्म बोर्डमा चासो व्यक्त भएको छैन,’ उनले भने ।
एक आपसमा मर्ज हुनेबित्तिकै बैङ्कको सङ्ख्या घट्छ । बैङ्कको सङ्ख्या घट्नेबित्तिकै धेरैजसो सीईओ, अध्यक्ष तथा सञ्चालकको पद स्वतः गुम्ने भएपछि उनीहरु मर्जको विपक्षमा उभिएको स्रोतको दाबी छ ।
केन्द्रीय बैङ्कले १७ ओटा बैङ्कलाई मर्ज गर्न अप्रत्यक्ष दबाब दिएको छ । यदि १७ ओटा बैङ्क मर्ज भएर ८ ओटामा झरे पनि ८ जना सीईओ र अध्यक्ष तथा सञ्चालकको पद गुम्छ ।
मेगा बैङ्कका सञ्चालकका अनुसार, अहिले सबै बैङ्कको चुँक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याएका छन् । सञ्चित कोषमा पनि अर्बभन्दा माथि रकम राखेका छन् । प्रत्येक वर्ष हुने नाफाबाट २० प्रतिशत रकम सञ्चित कोषमा राख्नुपर्छ । त्यसैगरी अहिले हरेक बैङ्कको वार्षिक नाफा एक अर्ब रुपैयाँभन्दा बढी रहेकाले आफ्नो अस्तित्व समाप्त गरेर मर्जमा जान सकिँदैन ।
‘कुनै पनि बैङ्क कमजोर छैन्,’ ती सञ्चालकले भने, ‘समान रुपमा मर्जको भएको अवस्थामा त्यता जान सकिन्छ ।’
सिद्धार्थ बैङ्कका एक सञ्चालकका अनुसार मर्जको विकल्प छैन । लागत र ब्याजदर घटाउन मर्ज अत्यावश्यक भएको उनको भनाइ छ । ‘चुँक्ता पुँजी र सञ्चित कोषलाई हेरेर मात्रै बैङ्क ठूलो वा सानो भन्न मिल्दैन,’ ती सञ्चालकले भने, ‘बैङ्कका शाखा कति छन्, कति निक्षेप सङ्कलन हुन्छ र कति लगानी गरेका छन् भन्ने विषयलाई पनि अध्ययन गरेर बैङ्क मर्जमा जान्छन्, ।’
बैङ्कको सम्पूर्ण अवस्थाको अध्ययन गरेपछि बैङ्कको स्वाप रेसियो निस्किने र सोहीलाई आधार मानेर बैङ्क मर्जमा जाने ती सञ्चालकको भनाइ छ ।