काठमाडौं। पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुट्न काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँबराबर बैंक ग्यारेन्टी पेस गरेका छन्।
पाटन उच्च अदालत बिहीबार खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि खाँण शुक्रबार बैंक ग्यारेन्टी लिएर काठमाडौं जिल्ला अदालत पुगेका थिए। खाँणले धरौटीबराबर रकम बैंक ग्यारेन्टी पेस गरे पनि उनी तत्काल रिहा भने हुने छैनन्।
पूर्वगृहमन्त्री खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित गराएपछि मात्र रिहा गरिने जनाइएको छ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदनमा खाँण गृहमन्त्री हुँदा कीर्ते गरेर नेपाली युवालाई अमेरिका पठाउने प्रयास भएको अनुसन्धानबाट खुलेको उल्लेख छ।
प्रतिवेदन तयार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वगृहमन्त्री खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई गत वैशाख २७ गते घरबाटै पक्राउ गरेको थियो।
यही प्रकरणमा आरोप पुष्टि भएपछि पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतलाई गत असार १ मा पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।
अदालतको आदेशविरुद्ध आरोपी पाटन उच्च अदालत गएका थिए। पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझिएको थियो।
न्यायाधीश खरेलले पूर्वगृहमन्त्री खाँण निर्दोष रहेको प्रमाण नदेखिएको भन्दै उनलाई छाड्न नहुने राय लेखे पनि अर्का न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए।
त्यसपछि हिजो बिहीबार तेस्रो न्यायाधीश कहाँ पेस हुँदा खाँणलाई छाड्ने आदेश सदर भएको थियो।