काठमाडौं। रोयल रिक्रियसन नेपाल प्राइभेट लिमिटेडले आफ्नो परियोजनाका लागि पौने २ अर्ब रुपैयाँ बढी बैंक ऋण लिन लागेको छ। कम्पनीले झापाको मेचीनगरमा ‘होटल सोल्टी’ ब्राण्डमा पाँचतारे होटल निर्माणमा लागि बैंक ऋण सुविधा लिन लागेको हो।
कम्पनीले परियोजनमा ऋण लिनका लागि क्रेडिट रेटिङ एजेन्सी इन्फोमेसिक्स नेपालमा ऋण रेटिङ गराएको छ। इन्फोमेसिक्सले कम्पनीलाई १ अर्ब ७८ करोड रुपैयाँ ऋण सीमा निर्धारण गर्दै १ अर्ब ७३ करोड रुपैयाँको दीर्घ कालीन ऋणमा ‘डबल–बि माइनस’ र ५ करोड रुपैयाँ अल्पकालीन ऋणमा ‘ए–फोर’ रेटिङ प्रदान गरेको छ। यो ऋण मुख्य गरी होटल निर्माण र सोही कार्यसँग सम्बन्धित खर्च व्यवस्थापनका लागि उपयोग गरिने रेटिङ रिपोर्टमा उल्लेख छ।
कुल २ अर्ब ८४ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनामा ऋण र इक्विटीको अनुपात ६९ः३१ रहने छ। अर्थात्, होटल निर्माणको ६९ प्रतिशत खर्च बैंक ऋणबाट र ३१ प्रतिशत संस्थापकहरूको लगानीबाट व्यहोरिने छ।
यो होटल सोल्टी होटल लिमिटेडको ‘फ्रेन्चाइज मोडल’ अन्तर्गत ‘होटल सोल्टी झापा’को नामबाट सञ्चालन हुनेछ। ५७ वर्ष लामो इतिहास बोकेको सोल्टी ब्राण्डसँगको आबद्धताले होटलको व्यवसायिक सफलतामा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। कम्पनीको प्रमुख सेयरधनी वेदा लय ग्रुप होल्डिङ प्राइभेट लिमिटेड हो। जसमा सोल्टी होटल लिमिटेडको करिब ६० प्रतिशत सेयर हिस्सा छ। साथै होटललाई मित्तल परिवार र अनुभवी व्यवसायी प्रदीप मित्तलले प्रवद्र्धन गरेका छन्।
झापाको मेचीनगरमा बन्न लागेको यो होटल भारतीय सीमा र भारतको बागडोग्रा अन्तर्राष्ट्रिय विमान स्थलबाट मात्र २३ किलोमिटरको दूरीमा छ। यसले गर्दा भारत र बंगलादेशका पर्यटक, धार्मिक पर्यटक र सीमावर्ती क्षेत्रमा हुने विवाह तथा व्यापारिक कार्यक्रमका लागि यो होटल आकर्षक हुने देखिन्छ। होटलमा १ सय ८० वटा कोठा, एउटा ठूलो ब्यान्क्वेट हल र तीनवटा कन्फरेन्स हल रहने छन्।
रिपोर्टअनुसार सन् २०२१ मा दर्ता भएको यस कम्पनीको होटल निर्माणको काम हाल जारी छ। सन् २०२६ को मार्च अन्त्यसम्ममा आयोजनाको वित्तीय प्रगति करिब १३ प्रतिशत मात्र भएको छ भने प्रवद्र्धकहरूले आफ्नो हिस्साको करिब १४ प्रतिशत इक्विटी लगानी गरिसकेका छन्। यो होटल सन् २०२८ देखि मात्र सञ्चालनमा आउने लक्ष्य राखिएको छ।
निर्माण कार्य सुरुवाती चरणमै रहेकाले समयमै आयोजना सम्पन्न गर्ने र अनुमानित लागतभित्रै काम सक्ने विषय कम्पनीका लागि मुख्य चुनौती रहेको रेटिङ एजेन्सीले औँल्याएको छ। यस्तै, होटल क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धा र मौसमी उतारचढावले पनि भावी नाफामा प्रभाव पार्न सक्ने जोखिम देखिएको छ।