काठमाडौं। लामो समयदेखि बन्द सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले ठेक्का लगाएको १२ लाख स्मार्ट कार्डमध्ये ६ लाख कार्डको प्याकिङको काम सुरु भइसकेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए।  
‘आज प्याकिङ भइरहेको छ। ती कार्ड अर्को साता  नेपाल आइपुग्छन्,’ उनले क्यापिटल नेपालसँग भने। रिजालका अनुसार अर्को साता कार्ड आइपुगे पनि तत्काल छापाइ भने सुरु हुने छैन। 
‘कार्ड आइपुगे पनि तत्काल छपाइ गर्न मिल्दैन। ती कार्डमध्ये हामीले १० वटा कार्ड नमुनाा लागि झिकेर जर्मनीको ल्याबमा परीक्षण गर्न पठाउँछौं। रिपोर्ट आएपछि बल्ल ती लाइसेन्सको बन्डल प्रिन्टरको घानमा हाल्छौं,’ उनले भने। 
अवस्था सामान्य रहे माघ २ देखि छपाइ सुरु गर्ने तयारी रहेको रिजालले बताए। प्रक्रिया पूरा गरेका र नवीकरणका लागि आवेदन दिएका करिब १४ लाखले लाइसेन्स पाउन सकेका छैनन्। 
‘हाल १४ लाख छाप्न बाँकी (ब्याकलक) छ। त्यसलाई समाधान गर्न हामी ३ सिफ्टमा लाइसेन्स प्रिन्ट गर्छौं। प्रत्येक सिफ्टपछि एक घन्टा ब्रेक गरेर २४ सै घन्टा छपाइ गर्छौं। यसरी ३ सिफ्टमा काम गर्दा दैनिक ९ हजार लाइसेन्स छपाइ हुन्छ,’ उनले भने। 
आगामी साउनदेखि सबै ब्याकलक हट्ने रिजालको भनाइ छ। ‘यही महिना हाम्रो अर्को मास प्रिन्टर र थप कार्डको ठेक्का लाग्दै छ। प्रिन्टर चैतभित्र ल्याउनुपर्ने गरी सम्झौता गर्छौं। त्यो प्रिन्टर आएपछि दैनिक छपाइ कुल २१ हजार हुन्छ। साउनदेखि लाइसेन्स ब्याकलकको समस्या पूर्ण रुपमा हल हुन्छ,’ उनले भने। 
जिम्मेवारी प्रदेशलाई दिँदै विभाग
प्रदेश यातायात कार्यालयहरुले पनि आफ्नो हिसाबले लाइसेन्स छपाइको तयारी गरिरहेका छन्। विभागले ठेक्का लगाएको लाइसेन्स ल्याएर सफल तरिकाले छपाइ भएपछि प्रदेशले पनि ठेक्का लगाउने तयारी गरेको रिजालले बताए। 
‘लाइसेन्स र प्रिन्टरका लागि सबैजसो प्रदेशमा बजेट छ। हामी सफल भएपछि स्पेसिफिकेसन, सम्झौता, ठेक्का प्रक्रियालगायत हामीले भोगेका र अनुभव गरेका कुरामा हामी प्रदेशलाई सहयोग गर्छौं। त्यसपछि विस्तारै यो जिम्मेवारी हस्तान्तरण (ह्यान्डओभर) गर्छौं,’ उनले भने। 
४ महिनादेखि लाइसेन्स छपाइ ठप्प 
सवारी चालक अनुमतिपत्र छपाइ ४ महिनादेखि ठप्प छ। कार्ड सकिएपछि गत भदौदेखि बन्द भएको नियमित लाइसेन्स छपाइ हालसम्म सुरु हुन नसकेको हो।
लाइसेन्स छपाइ नहुँदा १४ लाख चालक रसिदको भरमा सवारीसाधन चलाउन बाध्य छन्।  विभागले २०७९ माघमा १२ लाख थान कार्डको ठेक्का लगाएको थियो। सम्झौताअनुसार तीन महिनामा कार्ड आपूर्ति गर्नुपर्नेमा १ वर्ष पुग्न लाग्दा बल्ल डेलिभरी हुन लागेको हो।
लाइसेन्सको ‘पर्सनलाइज’ गर्नुपर्ने भएकाले केही ढिलाइ भएको विभागको तर्क छ। अहिलेको कार्ड जर्मनीको म्युहलबौयर आइडी सर्भिस जिएमबिएचले ल्याउन लागेको र त्यो कार्डलाई विभागमा रहेको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) को प्रिन्टरलाई चिनाउनु (पर्सनलाइज) पर्ने भएकाले समय लागेको विभागले दाबी गरेको छ।