विराटनगर। राष्ट्रपति रामचन्द्र पौडेलले ंआत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार र निजी क्षेत्रको साझेदारी अपरिहार्य रहेको बताएका छन्।
शनिबार नेपाल उद्योग परिसंघ कोसी प्रदेशले विराटनगरमा आयोजना गरेको उद्योगीको भेला तथा प्रजातन्त्र सेनानी सम्मान कार्यक्रम उद्घाटन गर्दै राष्ट्रपति पौडेलले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी, व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन्।
कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न सकेको छैन भने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ। उद्योगधन्धा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। उद्योग कलकारखाना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।’
अर्थतन्त्र सुधारका लागि सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिति, विप्रेषण वृद्धि दरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको बताउँदै उनले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको उल्लेख गरे।
नेपालमा कृषि क्षेत्रको रुपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि, रोजगारी सृजना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा गरिबी निवारण गरी आर्थिक विकासको बाटोमा सरकारको एक्लो प्रयास पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको साझेदारी अपरिहार्य हुने राष्ट्रपतिले सुझाए।
‘कुल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजी क्षेत्रमैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ’, राष्ट्रपति पौडेलले भने।
उनले नेपालको पहिलो औद्योगिक नगर कोसी प्रदेशको राजधानी विराटनगर स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने कृष्णप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत र नेपालमा औद्योगिक अभियानको सुरुमात गर्ने रामलाल गोल्छा, चन्दनमल दुगडलगायत सबैको योगदानको मुक्तकण्ठले प्रशंसा गरे।
कोसी प्रदेश प्रमुख परशुराम खापुङले देश विकासमा निजी क्षेत्रको अहं भूमिका हुने भएकाले राज्यले उनीहरूको सहयोगको अपेक्षा गरेको बताए।
कोसीका मुख्यमन्त्री केदार कार्कीले सरकारको सहयोगी अंगको रुपमा रहेका उद्योगी–व्यापारीले रोजगारी सृजनामा सघाएकामा आभार व्यक्त गरे।
कार्यक्रममा नेपाल उद्योग परिसंघ कोसी प्रदेशका अध्यक्ष भीम घिमिरे, उद्योग परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरी, संघका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र पाण्डेले देशको आर्थिक विकासका निम्ति कृषि क्षेत्रलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा प्रजातन्त्र सेनानी, प्रतिष्ठित उद्योगपतिलगायत २९ जनालाई सम्मान गरिएको थियो।–रासस