काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने दाबी गरेका छन्।
शुक्रबार भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले यस्तो दाबी गरेका हुन्।
पर्यटक आगमन, विप्रेषण, सेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने आधार देखिएको उनको जिकिर छ।
बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि ५.५ बाट नबढ्नुले पनि सकारात्मक संकेत मिलेको स्पष्ट भएको उनले बताए।
मन्त्री महतले रातो किताबमा तोकिएभन्दा बाहिरबाट खर्चिने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार ल्याएको उल्लेख गरे।
समाजका अध्यक्ष डा नारायण खड्काले ज्ञान र सूचनाको केन्द्रका साथै मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभव पनि भएकाले पुस्तकालयलाई राज्यले प्राथमिकता दिनुपर्नेमा बताए।
उनले सरकारले समाजका लागि बजेट कटौती गरेको, पुस्तकालय भवनका लागि जग्गा नभएको र समाज कल्याण परिषद्ले व्यापारिक पसलसरह भाडा बढाउने गरेको समस्याबारे मन्त्री महतलाई अवगत गराए।
कार्यक्रममा समाजका अगुवा महेश अग्रवाल र तीर्थराज वन्तलाई सम्मान गरिएको थियो। २०६० असोज ८ मा काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको सो पुस्तकालयमा वार्षिक ३० हजार बढी पाठक आउने गरेका छन् भने २ हजार चार सय वार्षिक सदस्य छन्।
पुस्तकालयमा हालसम्म ३७ हजार ६ सय १४ पुस्तक उपहारस्वरुप प्राप्त भएका छन् भने चार हजार ३ सय ५१ पुस्तक खरिद गरिएका छन्।