काठमाडौं। कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे सानेपा मुख्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराएका छन्।
अर्थमन्त्री महतले पछिल्लो एक वर्षमा आर्थिक क्षेत्रमा भएका काम र भविष्यमा सम्पादन गरिने कामबारे पार्टीलाई जानकारी गराएको उनको निजी सचिवालयले बताएको हो।
सचिवालयका अनुसार बैठकमा मन्त्री महतले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, मौद्रिक तथा वित्तीय क्षेत्रमा सुधार, बाह्य क्षेत्र सुधार र सार्वजनिक वित्त सुधारको कार्यदिशा प्रस्तुत गर्नाका साथै आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल नरहेका तर सरकारको निरन्तरको प्रयासबाट तिनमा सुधार हुँदै गएको औंल्याएका छन्।
अर्थतन्त्रका अधिकांश परिसूचक सुधारोन्मुख रहेको, एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि चालू आर्थिक वर्षमा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण गरेकामा सरकारको प्रयास ६ प्रतिशत पु¥याउने रहेको अर्थमन्त्रीले जानकारी दिए।
आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल नरहेका तर सरकारको निरन्तरको प्रयासबाट तिनमा सुधार हुँदै गएको महतको दाबी छ।
गत कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ३८ प्रतिशत रहेको जानकार दिँदै उनले त्यसलाई वाञ्छित सीमाभित्र राख्ने प्रयास जारी रहेको बताए।
चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्म राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव दुई प्रतिशतले बढेर तीन खर्ब ६३ अर्ब ४३ करोड, सोही अवधिमा चालू खर्च एक दशमलव ६ प्रतिशत, पुँजीगत खर्च ६ दशमलव एक र वित्तीय व्यवस्थातर्फको खर्च २१ दशमलव दुई प्रतिशतले बढेको बैठकमा अर्थमन्त्रीले जानकारी दिए।
गत मंसिर मसान्तसम्ममा सरकारको खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव एक प्रतिशतले बढेर चार खर्ब ५३ अर्ब पुगेको छ।
चालू आर्थिक वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य रहेकामा मंसिर मसान्तसम्म २५ दशमलव ८७ प्रतिशत खर्च भएको छ। यही अवधिको पुँजीगत खर्च ११ दशमलव ९ प्रतिशत छ।
अर्थमन्त्रीले बैठकमा चालू आर्थिक वर्षको पहिलो पाँच महिना अवधिमा कुल वस्तु आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव चार प्रतिशतले घटेर पाँच खर्ब ४२ अर्ब र वस्तु निर्यात ६ दशमलव एक प्रतिशतले घटेर ६३ अर्ब २१ करोडको रहेको विवरण प्रस्तुत गरेका थिए।
सोही अवधिमा वस्तु व्यापार घाटा पाँच खर्ब ७९ अर्ब बराबर छ। अघिल्लो आर्थिक वर्ष कात्तिक महिनासम्म ३७ अर्ब ७९ करोडले घाटामा रहेको चालु खाता यस वर्षको सोही अवधिमा ९६ अर्ब ३८ करोडले बचतमा छ।
अर्थमन्त्री महतका अनुसार बैंकिङ प्रणालीमा निक्षेप थपिँदै गएको छ भने निजी क्षेत्रमा हुने कर्जा प्रवाह बढ्दै गएको छ। वार्षिक विन्दुगत आधारमा २०८० कात्तिकमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४ दशमलव तीन प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा चार दशमलव चार प्रतिशतले बढेको छ।
पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बन्दै गएका, गत आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा रहेकामा चालु आर्वको सोही अवधिमा एक खर्ब ४७ अर्ब पुगेको, विप्रेषण २६ दशमलव चार प्रतिशतले बढेर चार खर्ब ७८ अर्ब पुगेको, विदेशी मुद्रा सञ्चिति गत असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्ममा एक खर्ब ५७ अर्ब ४२ करोड थप भई १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ।
विदेशी विनिमयको यो सञ्चितिले १३ दशमलव ६ महिनाको वस्तु पैठारी तथा ११ दशमलव तीन महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त छ। यसैगरी, वैदेशिक लगानी प्राप्तिमा सुधार भएको, चालू आवको कात्तिकसम्म तीन अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ।
यो वर्ष पर्यटक आगमनमा पनि उत्साहजनक वृद्धि भएको, सन् २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक नेपाल आएका र चालू आवको पहिलो चार महिनासम्ममा पर्यटन क्षेत्रबाट भ्रमण आय ४७ दशमलव दुई प्रतिशतले वृद्धि भई २५ अर्ब ७४ करोड पुगेको छ।
अर्थमन्त्री महतका अनुसार बैंकिङ प्रणालीमा निक्षेप थपिँदै गएको छ भने निजी क्षेत्रमा हुने कर्जा प्रवाह बढ्दै गएको छ। वार्षिक विन्दुगत आधारमा २०८० कात्तिकमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४ दशमलव तीन प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा चार दशमलव चार प्रतिशतले बढेको छ।
बैंकको ब्याजदर घट्दै गएको छ । २०८० कात्तिक मसान्तमा औसत अन्तर बैंकदर तीन दशमलव ४७ र वाणिज्य बैंकको औसत आधार दर ९ दशमलव ७४ प्रतिशत रहेको छ।
गत कात्तिक मसान्तसमा वाणिज्य बैंकको निक्षेपको ब्याजदर सात दशमलव ७६ प्रतिशत र कर्जाको ब्याजदर ११ दशमलव ९६ प्रतिशत रहेको थियो।
बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रमा नागरिकको पहुँच बढेको अर्थमन्त्री महतले बताए। हालसम्म ४२ दशमलव ९८ प्रतिशत जनसंख्यामा बिमा पहुँच पुगेको जनाइएको छ भने चालू आवको कात्तिकसम्म आठ हजार ८० कम्पनी दर्ता भएका छन्।
चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षमार्फत अर्थतन्त्रलाई उकास्न गरिएको व्यवस्थामा केही सुधार भएपछि पुँजीबजार र घरजग्गा क्षेत्रको कारोबार बढिरहेको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन सहज हुने अर्थमन्त्रीले बताए।