काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरुले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका छन्।
शनिबार चितवन उद्योग वाणिज्य संघको ५७औंँ वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी, व्यवसायीलाई नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्न सुझाएका हुन्।
अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेको उनको भनाइ छ। ‘उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छ?’ उनले भने।
अर्थतन्त्रका समस्या पूर्णरूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो। महतले भने, ‘अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन। पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ।’ सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए।
बैंकहरुको लगानी सेयर बजार र जग्गामा धेरै हुँदा अहिले समस्या देखिएको भए पनि यसलाई खुकुलो गरिएको बताउँदै उनले भने, ‘सबै लगानी अनुत्पादक क्षेत्रमा भएपछि राष्ट्र बैंकले कठोर मौद्रिक नीति बनायो, जसका कारण समस्या आयो। अहिले यसलाई विस्तारै खुकुलो बनाउँदै लगिएको छ।’
अर्थमन्त्रीले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। विप्रेषणको भरमा मात्र अर्थतन्त्र चलायमान नभएको बताउँदै उनले त्यसमा राजस्वको पनि योगदान रहेकोे बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी सकारात्मक सोचका साथ अगाडि बढ्न जरुरी रहेको धारणा व्यक्त गरे। उद्योगी, व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानका लागि सरकारले विशेष प्रयास गर्नुपर्नेमा उनले जोड दिए।
‘अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समय फड्को मार्न सक्ने गरी काम गर्नुपर्छ। अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजी क्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनैपर्छ’, उनले भने।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार उद्योगी–व्यवसायीको पक्षमा रहेको बताए।
कार्यक्रममा ५१ हजार नगदसहितको आर्थिक पत्रकारिता पुरस्कारबाट आर्थिक अभियान दैनिकका चितवन संवाददाता सूर्यप्रसाद अधिकारीलाई सम्मानित गरिएको थियो।
दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै साधारणसभा पुस २३ मा सम्पन्न हुनेछ। संघ अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र उपाध्यक्ष शिरिष पन्तबीच प्रतिस्पर्धा हुँदै छ।