काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्तालाई नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल–इन्डिया बिजनेस फोरमलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले तीव्र विस्तार हुँदै गरेको नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताए।
नेपालमा पर्यटन पूर्वाधार क्षेत्रमा हालै भएको उल्लेख्य विकासबारे चर्चा गर्दै भैरहवा र पोखरामा दुइटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै नेपालमा पर्यटन क्षेत्रको सम्भावनाको ढोका खुलेको उनको भनाइ थियो। नेपालमा होटल, केबुलकार, थिम पार्क, साहसी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठूलो सम्भावना रहेकाले यसमा भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उनले बताए।
नेपालमा होटल, केबुलकार, थिम पार्क, साहसी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठूलो सम्भावना रहेकाले यसमा लगानी गरेर लाभ लिन भारतीय लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह छ।
‘नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मारेको छ। भारतीय लगानीकर्तालाई नेपालमा बढ्दो पर्यटन सम्भावनाको प्रयोग गर्दै यहाँका विविध क्षेत्रमा लगानीका लागि आग्रह गर्न चाहन्छु। दुइटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पर्यटक आगमन बढेको छ। यसले धेरै क्षेत्रमा लगानी गरी फाइदा लिन सक्ने वातावरण बनाइदिएको छ’, उनले भने।
नेपालमा परम्परागत क्षेत्रभन्दा बाहिर रहेका नयाँ र उदीयमान क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि र उत्पादन क्षेत्रमा लगानीका लागि सहकार्यका लागि अध्यक्ष ढकालले आग्रह गरे।
नेपालमा लगानी गरेका भारतीय र बहुराष्ट्रिय कम्पनीले राम्रो प्रतिफल लिइरहेको बताउँदै उनले भारतीय लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्न र यसको लाभ लिन सुझाए। भारतीय लगानीले नेपालको आर्थिक विकासमा मात्र योगदान पुर्याउने नभई दुई देशबीचको आर्थिक सम्बन्ध पनि बलियो बनाउने विश्वास उनले व्यक्त गरे।
अध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यमा सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनको चर्चा गर्दै त्यसमा भारतीय लगानीकर्तालाई सक्रिय सहभागिताका लागि आमन्त्रण गरे।
हालै भारतीय विदेशमन्त्री एस। जयशंकरको भ्रमण अवसरमा नेपाल र भारतबीच १० हजार मेगावाटसम्म विद्युत् भारतीय बजारमा लैजाने विषयमा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्तालाई ठूलो अवसर सिर्जना गरेको ढकालको धारणा।
हालै भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमण अवसरमा नेपाल र भारतबीच १० हजार मेगावाटसम्म विद्युत् भारतीय बजारमा लैजाने विषयमा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्तालाई ठूलो अवसर सिर्जना गरेको उनले औंल्याए।
अध्यक्ष ढकालले क्षेत्रीय रुपमा व्यावसायिक गतिविधि विस्तार गर्न र क्षेत्रीय व्यापार प्रवद्र्धनका लागि आफूले बिम्स्टेक बिजनेस फोरम प्रस्ताव गरेको जानकारी दिए। त्यसलाई अगाडि बढाउन आवश्यक सहयोगका लागि उनले इन्डियन चेम्बर अफ कमर्सलाई आग्रह गरे।