काठमाडौं । चालू आर्थिक बर्षको चौमासिक अवधिमा राष्ट्रिय प्रणालीमा ११६ मेगावाट विद्युत् थप भएको छ । उत्पादित थप विद्युत्सँगै अहिले राष्ट्रिय प्रणालीमा जडित क्षमता बढेर १ हजार ३३७ मेगावाट विद्युत् पुगेको छ ।
चालु आर्थिक बर्षको असार मसान्तसम्म ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटअन्र्तगत ७५ मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।
राष्ट्रिय गौरवको उक्त जलविद्युत् आयोजना असामसान्तसम्म पहिलो युनिट विद्युत् उत्पादन गर्ने गरी आयोजनाको कामले गति लिएको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बताए ।
उनले चालू आर्थिक बर्षमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजना नै महत्वपूर्ण प्रगतिका रुपमा हेरिएको उनले बताए । दोस्रो लटअन्र्तगतको काममा टेक्सम्याकोले काममा ढिलाइ गर्दा आयोजनाको लम्बिएपछि अहिले भने तीव्र रुपमा पेनस्टक पाइप जडान र फिनिसिङको काम भइरहेको घिमिरेले बताए ।
उनले असारसम्म पहिलो य्निट र त्यस्को ३/४ महिनाभित्र बाँकी युनिटको विद्यूत्को व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्यअनुसार काम अघि बढाएको बताए।
संघीय संसदको अर्थ समितिमा चौमासिक प्रगति सार्वजनिक गर्दै घिमिरेले ऊर्जा मन्त्रालयको महत्वपूर्ण जलविद्युत् आयोजना सम्पन्न गर्न लागि परेको बताए ।
बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन मुआब्जा वितरणको कामले गति लिएको उनले बताए । हालसम्म ४४ हजार ९६० रोपनी जग्गाका लागि २७ अर्ब ३ करोडको मुआव्जा वितरण गरिसकिएको उनले बताए ।
अहिले प्रतिव्यक्ति विद्युत् खपत २७५ किलोवाट पुगेको छ । २७ मेगावाट वैकल्पिक ऊर्जा तथा साना जलविद्युत् आयोजनाबाट राष्ट्रिय प्रणालीमा थप भएको छ । ४ लाख घरधुरीले फलामे चुल्हो प्रयोग गरेका छन् ।
त्यस्तै, जनताको जलविद्युत् कार्यक्रमअन्र्तगत रसुवागढी, त्रिशुली ३ बी, सान्जेन आयोजनाबाट १ करोड ९९ लाख कित्ता सेयर निष्कासन भइसकेको छ ।
माथिल्लो अरुण आयोजनाको क्षमता बढाएर १ हजार ६१ मेगावाटमै विकास गरिने भएको छ । ५० ओटा चार्जिङ स्टेशन निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढेको घिमिरेल बताए ।