काठमाडौं । नेपालमा थप लगानी गर्न तयार रहेका उद्योगी÷व्यवसायी तत्काल लगानी नगर्ने मोडमा पुगेका छन् । देशभित्र लगानीको वातावरण थप जटिल बन्दै गएको निश्कर्ष निकाल्दै उनीहरु थप लगानी नगर्ने स्थितिमा पुगेका हुन् । सौरभ समूह, ज्योति ग्रुप, शङ्कर ग्रुप, गोल्छा अर्गनाइजेशन, एमएस ग्रुपलगायका व्यावसायिक घराना तथा एक दर्जन सिमेन्ट उद्योगीहरु थप लगानी नगर्ने मनस्थितिमा पुगिसकेका छन् ।
सौरभ समूहले स्टिल उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको थियो । उद्योग स्थापनाका लागि विदेशबाट मेसिन समेत झिकाइसकेको थियो । जग्गा छनोटको काम समेत पूरा गरेको सौरभ समूहले तत्कालका लागि उद्योग स्थापनाबाट पछि हटेको छ । त्यसैगरी, ज्योति समूहले पनि नेपालमा होन्डा मोटरसाइकलको एसेम्बल्ड प्लान्ट लगाउन चाहेको थियो । त्यसका लागि ज्योति ग्रुपले देशका विभिन्न ठाउँमा जग्गा समेत खोजि गरिरहेको थियो ।
तर, देशभित्र लगानीमैत्री वातावरण नभएको तथा अहिले झन वातावरण विग्रेको निश्कर्ष निकाल्दै तत्काल लगानी रोकेको छ । वीरगन्ज तथा भैरहवामा फ्याक्ट्री लगाउने भनेर ज्योति समूहका निर्देशक शौरभ ज्योति जग्गा समेत खोज्न गएका थिए । तर, अहिले तत्काल लागि उनले लगानी नगर्ने भएका हुन् । त्यसैगरी, शङ्कर ग्रुपले पनि टिभिएस मोटरसाइकलको एसेम्बल्ड प्लान्ट लगाउने तयारी गरेको थियो । तर, अर्थतन्त्रमा आएको मन्दीलाई मध्यनजर गर्दै ग्रुप तत्काल उद्योग नलगाउने मनस्थितिमा पुगेको हो ।
त्यसबाहेक धेरै उद्योगीले उद्योगको क्षमता घटाएका छन् । चालू आर्थिक वर्षमा अधिकांश सिमेन्ट उद्योगीले आफ्नो क्षमता दोब्बर बनाउने योजना बुनेका थिए । तर, अर्थतन्त्रमा आएको सुस्ततालाई ख्याल गर्दै थप लगानी नगरेको उद्योगीले बताएका छन् । बैङ्कको चर्को ब्याज, उर्जाको समस्या, न्यून पुँजीगत खर्चकै कारण उद्योगहरुले आफ्नो लगानी स्थगित गरेका छन् ।
सबै तिरबाट लगानी विस्तारमा अवरोध पुर्याउने हो भने सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य भेटाउन त परै जाओस्, विश्व बैङ्कले लिएको लक्ष्य पनि भेटाउन मुस्किल हुने उद्योगीहरु बताउँछन् । सरकारले चालू आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको लक्ष्य राखेको छ भने विश्व बैङ्कले ६ दशमवल ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने बताइसकेको छ ।
बजारमा माग पनि निरन्तर ओरालो लागेपछि केहि उद्योगीले उत्पादन समेत घटाइरहेका छन् । स्थायी सरकार बनेको साढे दुई वर्ष वित्तिसक्दा औद्योगिक प्रवद्र्धन बोर्डको बैठक जम्मा एक पटक मात्रै बसेको छ । पुँजी वृद्धि तथा नयाँ लगानी स्वीकृतका लागि वोर्डको बैठक बस्नुपर्ने हो । तर, बोर्डमा एउटा पनि फाइल नआएका कारण बैठक नै बस्नु परेन ।
यहाँबाट पनि पुष्टि हुन्छ देशमा स्थायी सरकार बनेपछि नयाँ लगानी भित्रिएको छैन् । ‘जति उद्योग सञ्चालनमा आएका छन्, ती पाँच वर्ष अघि नै निर्माण कार्य सुरु गरिसकेका हुन्,’ एक उद्योगीले भने, ‘तर, पछिल्ला दुई आर्थिक वर्षमा एउटा पनि नयाँ लगानी भित्रिएका छैनन् ।’ डेढ वर्षको अवधिमा एक पटक पनि औद्योगिक प्रवद्र्धन बोर्डको बैठक बसेको छैन ।
यसको अर्थ बोर्डमा एउटा पनि फाइल नआएको बोर्डका एक सदस्यले जानकारी दिए । एकातिर सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन भने अर्कोतिर लगानीकर्ताले थप लगानी पनि गरेका छैनन् ।