काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ‘नेपाल गुणस्तर ४९’ बाट ३३ ग्रेडको सिमेन्ट हटाउने भएको छ । विश्वभर ३३ ग्रेडको सिमेन्ट उत्पादन बन्द भइरहेको बेला विभागले पनि ३३ ग्रेडको पीपीसी र पीएससी सिमेन्ट हटाउन लागेको हो ।
भारतलगायत विभिन्न देशले ३३ ग्रेडको सिमेन्ट उत्पादन बन्द गरिसकेका छन् । विभागले ३३ ग्रेडको सिमेन्टमा म्याग्नेसियम अक्साइडको मात्र ६ प्रतिशतमा सिमित गर्नुपर्ने व्यवस्था बनाएको थियो । बाँँकी ४३ र ५३ ग्रेडको सिमेन्टमा एमजीओ ५ प्रतिशत मात्रै हुनुपर्ने व्यवस्था गरेको थियो । तर, विभागले ३३ गे्रडको सिमेन्ट उत्पादन बन्द गरेपछि नेपालमा एमजीओ ५ प्रतिशत तथा ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न बाटो खुला भएको छ ।
व्यवसायीले पनि पटक–पटक ३३ ग्रेडको सिमेन्ट नेपाल गुणस्तरबाट हटाउन माग गरिरहेका थिए । उनीहरुको माग र विश्व बजारबाट समेत हटाइएको अवस्थामा नेपालमा पनि हटाउन लागिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
‘नेपाल गुणस्तरबाट ३३ ग्रेड झिकेपछि उत्पादन प्राय बन्द हुन्छ । अहिले ४३ र ५३ ग्रेडको सिमेन्ट बनिरहेका बेला ३३ ग्रेड कसले खरिद गर्छ र ?’ विभागका महानिर्देशक पुडासैनीले भने, ‘अब नेपालमा पनि ४३ र ५३ ग्रेडको मात्रै सिमेन्ट हुन्छ ।’
एमजीओ ५ र आइआर २ प्रतिशत भन्दा बढी भए इजाजत खारेज
स्वदेशी सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टमा एमजीओ ५ र आइआर २ प्रतिशत भन्दा बढी उद्योगको इजाजत खारेज गर्ने विभागले जनाएको छ । नेपालमा सञ्चालित धेरै उद्योगले उत्पादन गरेका सिमेन्टको आइआर तोकिएकाो मापदण्ड भन्दा बढी भएको विभागले फेला पारेको छ । त्यस्ता उद्योगको इजाजत तत्काल खारेज हुने विभागले जनाएको छ ।
विभागले भोलिबाटै उद्योग उद्योगमा अनुगमनका लागि पठाउने तयारी समेत गरेको छ । नेपाल गुणस्तर ४९ अनुसार नभए उनीहरुको इजाजत खारेज गर्ने पुडासैनीले जानकारी दिए ।