काठमाडौं । आईएमई ग्रुपले प्रवद्र्धन गरेको निर्माणधिन ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको काम लगभग सकिएको छ ।
आगामी १ महिनाभित्र आयोजनाबाट परीक्षण विद्युत उत्पादन गर्ने योजना रहेको विकासकर्ता माउन्टेन इनर्जी नेपाल लिमिटेडका सञ्चालक सुब्रत धितालले क्यापिटल नेपाललाई बताए । उनले छिटोमा १५ दिन र ढिलामो १ महिनाभित्र आयोजनाको बाँकी काम सम्पन्न हुने सुनाए ।
आयोजनाको मुख्य काम सकिएको छ । बाँध, विद्युतगृह, सुरुङ र पाइपलाइन र इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सकिएको छ ।
आयोजनाको काम सकिन लागे पनि नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइन निमाणमा ढिलाइ गरेको छ ।
प्रसारणलाइन नहुँदा आयोजनाबाट उत्पादन हुने बिजुली खेर जाने अवस्था रहेको कम्पनीले जनाएको छ । विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब–स्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो ।
आयोजनाको लागत प्रतिमेगावाट साढे १३ करोड रुपैयाँ रहेको अनुमान गरिएको धितालले बताए । आयोजना बनाउन ५ अर्ब ६७ करोड रुपैयाँ लागेको अनुमान गरिएको छ । आयोजनाको काम सकिएपछि वास्तविक लागत आउने छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकले ७० करोड, हाइड्रो इलेक्ट्रिसिट इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीए) ले १ अर्ब र नेपाल बैंकले ५० करोड ऋण लगानी गरेका छन ।
यसैगरी नविल बैंकले १ अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र तत्कालिन एस डेभलभमेन्ट बैंक हालको नेपाल इन्भेस्टमेन्टको ३० करोड रुपैयाँ ऋण लगानी रहेको छ ।
सन २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम शुरु भएको हो । बाँधतर्फ ९२६ मिटर र आउटलेटबाट १ हजार ३४४ मिटर सुरुङ खनेको छ । म्याग्दीको नारच्याङको बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ ।
निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण भएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी र नहर भूमिगत हो ।
पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।
आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण गरेको छ । विद्युत विकास विभागले २०६४ मा निर्माण अनुमति दिएको थियो । आयोजना अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा छ ।
माउन्टेन ३९ करोडको आईपीओ ल्याउने
कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढेको सञ्चालक धितालले बताए ।
आईपीओ निष्कासनमा सीबीआईएल क्यापिटल लिमिटेड र नविल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भइसकेका छन । माउन्टेन इनर्जीले दुई जलविद्युत कम्पनीलाई प्राप्ति (एक्जिसन) गरेको छ ।
माउन्टेनले रोवष्ट इनर्जी लिमिटेड र आधिशक्ति विद्युत विकास कम्पनी लिमिटेडलाई प्राप्ती गरेको हो ।आधिशक्ति विद्युत विकासले नुवाकोटमा ५ मेगावाट क्षमताको तादीखोला आयोजना सञ्चालन गरिरहेको छ