काठमाडौं । भूकम्प गएको ४ बर्षको अवधिमा निजी आवास पुनर्निमाणमा ८६ प्रतिशत भौतिक प्रगति भएको छ । गत २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भौतिक संरचनाअन्र्तगत निजी आवास निर्माणले गति लिएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणको ४ बर्षको अवधिमा पुननिर्माणका क्षेत्रमा भएको प्रगतिबारे विहीबार आयोजित पत्रकार सम्मेलनका अवसरमा निजी आवास निर्माणतर्फ ८६ प्रतिशत र विद्यालयतर्फ ७१ प्रतिशत पुननिर्माण भएको जानकारी दिएको छ ।
कुल ७ लाख ८० हजार १६५ लाभग्राहीमध्ये हालसम्म ४ लाख ८४ हजार ३२३ घरको पुननिर्मााणको काम सम्पन्न भएको छ । कुल लाभग्राहीमध्ये ६२ प्रतिशत अनुदान पाइसकेका छन् । झन्डै २ लाख घर निर्माणधीन अवस्थामा रहेको र ती निजी आवास पुनर्निमाणलाई यसैबर्षभित्र सम्पन्न गर्ने गरी अघि बढेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, निजी आवास सम्वन्धी ४ लाख गुनासो सुनुवाइ भएको छ । कुल ११९७ ओटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६५ ओटा पुननिर्माण भइसकेका छन् । बाँकी १४९ ओटा स्वास्थ्य संस्था निर्माणधीन छन । पूर्ण र आंशिक क्षति भएका ४१५ सरकारी भवनमध्ये ३५९ ओटा निर्माण सम्पन्न भएका छन् बाँकी ४९ ओटाको काम तीव्र रुपमा भइरहेको प्राधिकरणले जनाएको छ ।
भूकम्पपछि अशुरक्षित स्थानमा रहेको ४२०४ लाभग्राहीलाई शुरक्षित बस्ती स्थानान्तरणका लागि जग्ग खरिद र व्यवस्थापनको काम मिलाइएको छ । ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुम्बासीलाई जग्गा खरिद गरिएको छ ।
४३ ओटा एकीकृत वस्तीले स्वीकृती पाइसकेका छन् । जसमा २२ ओटाकोका काम सुरु भइसकेको छ । भूकम्पले क्षति भएको कुल ७६२ किलोमिटर सडक निर्माणमध्ये ४४३ किलोमिटर सडक निर्माण भइसकेको छ । क्षतिग्रस्त भएका ७९१ खानेपानी आयोजनाको निर्माण समेत सम्पन्न भएको छ । ६७० ओटा खानेपानी आयोजना निर्माणको चरणमा छन् ।
पुननिर्माणको बाँकी काम सम्पन्न गर्न करिव ३ खर्ब रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । चालू आर्थिक बर्षमा ३४ अर्बको स्रोत सुनिश्चितता गर्नुपर्ने प्राधिकरणको दाबी छ ।
विपन्न वर्गका लागि निजी आवासमा ५० हजार थप अनुदान सहित १ हजार घुम्ती डकर्मी र सामाजिक परिचालकहरु खटाइने प्राधिकरणको तयारी छ । आगामी बर्ष प्राधिकरणले अन्तराष्ट्रिय सम्मेलनको आयोजना समेत गर्ने भएको छ ।
अनुदान सम्झौता गरेकामध्ये ९८ प्रतिशतले पहिलो किस्ता, ७९ प्रतिशतले दोस्रो किस्ता, ६७ प्रतिशतले तेस्रो किस्ता लिएका छन् ।
हालसम्म सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्थामार्फत ४२ अर्ब गरी कुल ३ खर्ब ३५ अर्ब रुपैयाँ पुननिर्माणमा खर्च भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीइओ) शुशिल ज्ञवालीले बताए ।
उनले चालू आर्थिक बर्षभित्र निजी आवासको पुनर्निमाणलाइ सम्पन्न गर्दै अर्को बर्ष सहरी र अन्य ऐतिहासिक तथा धार्मिक संरचनाको पुननिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, पाटनको कृष्णमन्दिर, हनुमान ढोकाको गद्दी बैठक, साँखुको बज्रयोगिनी, प्रसुति गृह, बीर अस्पताल, नेपाली सेनाको जङ्गी अड्डा लगायतका संरचनाको पुननिर्माण सम्पन्न भएका छन् ।
धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरबार, नु्वाकोट दरबार, सिंहदरबार(उत्तर, पूर्व, दक्षिण र पश्चिम भाग), दरबार हाइस्कुल लगायतका संरचनाको पुनर्निमाण भइरहेको छ । यस्तै, पुल, सडक, गुम्बा लगायतका संरचनाको कार्य अघि बढ्ने चरणमा छन् ।