काठमाडौं । भर्टिकल सफ्ट किल्न (भीएसके) प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्दै आएका आधा दर्जन उद्योगको भविष्य जोखिममा पर्ने भएको छ । सरकारले नेपाल गुणस्तर ४९ बाट ३३ ग्रेडको सिमेन्ट हटाउने भएपछि उनीहरुको भविष्य सङ्कटमा पर्ने भएको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले निकट भविष्यमै ३३ ग्रेडलाई नेपाल गुणस्तरबाट हटाउने बताइसकेको छ । यदि विभागले ३३ ग्रेडलाई नेपाल गुणस्तरबाट हटाएको अवस्थामा बुटवलको निर्माण सिमेन्ट, कृष्णनगरको भूगर्भ सिमेन्ट, नौविसेको केपी सिमेन्ट, वीरगन्जमा रहेको युनिटके, धनकुटामा रहेको निगाले सिमेन्टको भविष्य जोखिममा पर्ने छ ।
यी उद्योगले कि आफूलाई अपग्रेड गर्नुपर्ने हुन्छ । होइन भने यी उद्योग बन्द गर्नुको विकल्प नभएको सरोकारवाला बताउँछन् । ‘आफूलाई अपग्रेड गरेर ४३ र ५३ ग्रेडको सिमेन्ट बनाए भने बजारमा प्रतिस्पर्धामा आउँछन्, यही अवस्थामा यी उद्योगबाट उत्पादित सिमेन्ट बजारमा बिक्री पनि हुन छाड्छन्,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले क्यापिटल नेपाललाई भने, ‘अहिले बजारमा ४३, ५३ मात्रै होइन्, त्यो भन्दा बढी ग्रेडको वा गुणस्तरको सिमेन्ट उत्पादन भइरहेको बेलामा कुन उपभोक्ताले ३३ ग्रेडको सिमेन्ट किनेर बस्छ ?’
भारतलगायत विश्वका धेरै मुलुकमा ३३ ग्रेडको सिमेन्ट नै बन्दैन । विश्वका धेरै उद्योगले ३३ ग्रेडको सिमेन्ट उत्पादन नै बन्द गरिसके । त्यही भएर नेपालले पनि ३३ ग्रेडलाई नेपाल गुणस्तरबाट हटाउन लागेको हो ।
केही समयपछि अन्य भीएसके बाहेकका प्रविधि लगाएर सिमेन्ट उत्पादन गर्नेले ४३ र ५३ ग्रेड लेखेर बजारमा सिमेन्ट ल्याउँछन । ती सिमेन्ट ३३ ग्रेडको तुलनामा धेरै गुणस्तरीय पनि हुने भएकाले ३३ ग्रेड आफै बजारमा पलायन भएर जाने विभागले जनाकारी दिएको छ ।
भीएसके प्रविधि सस्तो हो । यसको क्षमता पनि अत्यन्तै कम हुन्छ । अहिले दैनिक १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने कम्पनी आइसके भीएसके प्रविधिबाट दैनिक ४ हजार बोरा पनि उत्पादन हुँदैन । यस्तो अवस्थमा ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था हुने जानकार बताउँछन् ।
भीएसके प्रविधिमार्फत सिमेन्ट बनाइरहेका उद्योगले क्लिङ्कर बनाउने उद्योगसँग क्लिङ्कर किनेर ४३ र ५३ ग्रेडको सिमेन्ट बनाउन सक्छन् । त्यसरी क्लिङ्कर किनेर सिमेन्ट बनाउँदा अन्य उद्योगसँग प्रतिस्पर्धा गर्न अत्यन्तै कठिन हुने उद्योगीहरु बताउँछन् ।
‘जसले क्लिङ्कर बेच्छ, उसले सिमेन्ट बनाएर बेच्छ,’ एक उद्योगीले भने, ‘सिमेन्ट बनाउने उद्योगसँग क्लिङ्कर किनेर सिमेन्ट बनाउँदा प्रतिस्पर्धा गर्न नसकिने अवस्था आउँछ ।’
संसद्को सार्वजनिक लेखा समितिले म्याग्नेसाइड अक्साइड (एमजीओ) ५ र आईआर २ प्रतिशत मात्रै राख्न निर्देशन दिइसकेको छ । विभागले पनि ३३ ग्रेडको सिमेन्टमा मात्रै एमजीओ ६ प्रतिशतसम्म राख्न दिएको थियो ।
सोही ग्रेडको सिमेन्टलाई नेपाल गुणस्तरबाट हटाइदिएपछि अहिलेको समस्या नै समाधान हुने विभागको बुझाइ छ । विभागले ४३ र ५३ ग्रेडको सिमेन्टमा एमजीओ ५ प्रतिशत भन्दा बढी हुनु नहुने गरी कानुन ल्याइसकेको छ ।