काठमाडौं । भारतको अररियास्थित मीरगन्जमा थन्किएर बसेका मालबाहक सवारीसाधनलाई ‘रिरुट’ गरेर नेपाल ल्याइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले बिहारका मुख्यमन्त्री नितेश कुमारलाई फोन गरेर मीरगन्जमा पुल नबन्दासम्म रिरुटमार्फत ढुवानीकोा व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
राज्यमन्त्री दुगडको आग्रहलाई स्वीकार गर्दै बिहारका मुख्यमन्त्री नितेश कुमार रिरुट गरेर सामान नेपाल पठाउन तयार भएका हुन । अब भारतबाट आएका मालबाहक ट्रक कोसी व्यारेजस्थित भीमनगरमा ट्रकहरु आइपुग्ने उद्योग राज्यमन्त्री दुगडले बताए ।
केही दिनदेखि मीरगन्जको पुलमा समस्या आएपछि मालबाहक सवारीसाधनलाई अवातजावात रोकिएको थियो । नेपालतर्फ आउने ट्रक रोकिएपछि झण्डै १५ किलोमिटर भन्दा परसम्म लाइन भइसकेको थियो ।
मीरगन्जबाट दैनिक रुपमा २५० भन्दा बढी मालबाहक ट्रक नेपाल प्रवेश गर्छन । तर, पुलमा समस्या आएपछि सम्पूर्ण ट्रक भारतपट्टी नै रोकिएका छन ।
पुल तत्काल नबन्ने र ठूलो सङ्ख्यामा ट्रक लाइन लागेपछि राज्यमन्त्री आफै विराटनगर पुगेका थिए । बैकल्पिक उपायका बारेमा त्यहाँका व्यापारीसँग छलफल समेत गरेको दुगडले बिहारमा मुख्य मन्त्रीलाई समेत फोन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
दुगडका अनुसार आजैबाट ट्रक रिरुट भएर भीमनगर निस्किने छन् । ‘सकेसम्म आजैबाट समस्या समाधान हुन्छ,’ उनले भने, ‘नभए भोलिबाट नेपालतर्फ ट्रक आउन सुरु हुन्छ ।’
आयात/निर्यात ठप्प हुँदा राजस्वमा समेत ठूलो असर पर्दै गएपछि उद्योग राज्यमन्त्रीले बिहारका कमिसनरसँग पनि कुरा गरेका थिए ।
भारतीय पक्षले मङ्सिर ३ गतेबाट पुल मर्मत गर्न थालेपछि आयात/निर्यात ठप्प भएको थियो । करिब एक हप्तापछि बैकल्पिक उपाय अपनाइएको व्यवसायीहरुले बताएका छन् ।
दैनिक १५ करोड रुपैयाँँ राजस्व सङ्कलन हुने विराटनगर नाका केही दिनदेखि सुनसान भएपछि उद्योग राज्यमन्त्री दुगड वैकल्पिक उपायको खोजीमा सक्रिय भएका थिए ।
‘कच्चा पदार्थ बोकेर आएका सवारीसाधन पारीपट्टी नै रोकिएकाले नेपालका धेरै उद्योग बन्द भइसकेका थिए,’ दुगडले भने, ‘त्यही भएर पनि मैले सक्रियता देखाएर बैकल्पिक उपाय निकालेको हो ।’