वीरगञ्ज। सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको १० महिनामा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले आर्थिक मन्दीका कारण बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६०.७२ प्रतिशत राजस्व संकलन गरेको बताएको हो। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा. रामप्रसाद मैनालीले चालू आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व संकलन हुन नसकेको बताए। 'अहिले समग्र मुलुकको बजार सुस्ताएको छ,' उनले भने, 'माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो।'
भन्सार विभागले कार्यालयलाई चालू आवको १० महिनाको अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गो रेलबाट ढुवानी हुने गरेको छ। विगतमा दैनिक ३ वटा कार्गो रेलबाट मालसमान आउने गरेकामा हाल २ वटाबाट आउने गरेको छ।
कार्गो रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ। भन्सार विभागले कार्यालयलाई चालू आवमा ६५ अर्ब ९४ करोड १ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ।
चालू आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व संकलन हुने प्रक्षेपण कार्यालयले गरेको छ। प्रमुख भन्सार अधिकृत मैनालीले चालू आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व संकलन घटेको बताए।
'यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चा पदार्थ आयात हुन भएको छैन,' उनले भने, 'गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गर्थ्यो। यो वर्ष एसी र छाताको आयात पनि बढ्न सकेको छैन।' रासस