काठमाडौं । चिसो बढेपछि बिजुलीको मागमा वृद्धि भएको छ । बिजुलीको माग बढेर १ हजार ३३८ मेगावाट पुगको छ । लोडसेडिङ हटेपछिको यो सर्वाधिक माग हो । काठमाडौं उपत्यकामा बिजुलीको माग बढेर ४०० मेगावाट पुगेको छ ।
हाल विद्युत प्राधिकरणका आयोजनाबाट ५०८, भारतबाट ४९८ र निजी विद्युतगृहबाट ३३२ मेगावाट बिजुली आपूर्ति भएको प्रवत्ता प्रवल अधिकारीले बताए ।
चिसो बढपछि बिजुलीको माग बढेको उनको भनाई छ । माग बढेपछि ट्रान्सफरमरले लोड नधान्दा विद्युत आपूर्तिमा पटकपटक समस्या आइरहेको उनको भनाई छ ।जाडोको समयमा विद्युत् प्रयोग पनि बढेको छ ।
माग बढ्दा केही स्थानमा स्वभाविकरूपमा ‘लोड’ बढेको र ‘लोड’ व्यवस्थापनमा केही समस्या आउँदा विद्युत् काटिने गरेको निष्कर्षमा प्राधिकरण पुगेको छ । सोही समस्या समाधानका लागि प्राधिकरणले काठमाडौँका प्रमुख सवस्टेशन र वितरण केन्द्रहरुमा प्राविधिक जनशक्ति परिचालन गरेको छ ।
प्राधिकरणले वितरण प्रणालीको क्षमता बढाइरहेकाले पनि आपूर्तिमा अवरोध आईरहेकोे अधिकारीले बताए । उनले धेरै स्थानमा अहिले आपूर्तिमा समस्या आएको जानकारी दिए ।
प्राधिकरणले प्रणाली सुध्रिढीकरणको काम गरिरहेकाले एक सातापछि बत्ति जाने समस्या स्वतः समधान हुने उनको भनाई छ । ग्राहकले बिजुलीबाट खाना पकाउँदा माग बढेको प्राधिकरणको भनाई छ ।
विद्युत नभएर हैन, वितरण प्रणाली नै कमजोर भएर विद्युतलाइन ट्रिपिङ हुने, ट्रान्सफरमर जल्नेलगायत समस्य आइरहेको उनले सुनाए ।
मंसिरको दोस्रो सातादेखि नै वितरण प्रणालीमा समस्या देखिएको छ । वितरण प्रणाली पुराना भएकाले अहिले ठाउँठाउँमा ठुलठुला ट्रान्सफरमर राख्ने काम भइरहेको अधिकारीको भनाई छ ।
झ्याप्प बत्ती काटिएको भन्ने गुनासोपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिई समस्या समाधानका लागि पहल थालेका छन् ।
उनले शनिबार मात्रै काठमाडौँका बानेश्वर, टेकु, बालाजु, भक्तपुर, मुलपानीलगायत सवस्टेशनको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि पहल गरेका छन्।
कार्यकारी निर्देशक घिसिङले बढी विद्युत् माग भएको क्षेत्रमा ट्रान्सफर्मर फेर्न, विद्युत् वितरण प्रणालीमा समस्या देखिए त्यसलाई तत्काल समाधान गर्न निर्देशन दिएका छन्।
“विशेषगरी जाडो बढ्दै जाँदा विद्युत् माग ह्वात्तै बढेका कारण पनि केही स्थानमा समस्या आएको छ”, उनलेले भने“हामीले समस्या समाधानका लागि पहल गरेका छौँ । आज कार्यकारी निर्देशक पनि आफै कार्यस्थलमा पुग्नु भई समस्याको निरुपणका लागि पहल गर्नुभएको छ ।”
पछिल्ला दिनमा बानेश्वर, टेकु, बालाजु र पाटनमा केही समस्या देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् खपतका लागि आग्रह गरेलगत्तै विद्युत् माग बढेको छ ।
माग बढेका कारण लोड व्यवस्थापनमा समेत चुनौती थपिएको छ । माग बढ्नुलाई प्राधिकरणले पनि सकारात्मक रुपमा लिएको छ ।
चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुने भएकाले माग बढाउन प्राधिकरणले यसअघि नै आग्रह गरिसकेको छ ।