काठमाडौं । वृज र युनाइटेडले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर बजारमा पठाएको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगनमा यस्तो फेला परेको हो ।
दुई ओटा सिमेन्ट उद्योगमा नेपाल गुणस्तरले तोकेको मापदण्ड भन्दा बढी आइआर भएपछि विभागले १५ दिने स्पष्टिकरण सोधेको छ । मापदण्ड अनुसार ओपीसी सिमेन्टमा २ प्रतिशत भन्दा बढी आइआर हुनुहुँदैन भने पीपीसीमा २८ प्रतिशतभन्दा बढी आइआर हुनु हुँदैन ।
युनाइटेडले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । सोही सिमेन्टमा आइआर २.६ प्रतिशत रहेपछि विभागले उद्योगलाई १५ दिने स्पष्टिकरण सोधेको हो ।
त्यसैगरी, वृज सिमेन्टमा पनि आइआर २९.९ प्रतिशत आइआर देखिएपछि उसलाई पनि विभागले १५ दिने स्पष्टिकरण सोधेको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुले लिखित जवाफ पठाएपछि थप कारबाही प्रक्रिया अघि बढाइने छ । के कति कारणले तोकिएको मापदण्ड भन्दा बढी आइआर रहेको भनेर प्रष्टिकरण सोधिएको हो ।
त्यसैगरी, नेपाल र चनियाँ लगानीमा सञ्चालित होङ्सीको सिमेन्टको गुणस्तरमा पनि समस्या देखिएको विभागले जनाएको छ । केही दिनअघि संसद्को सार्वजनिक लेखा समितिले आइआर २ प्रतिशत र २८ प्रतिशतमा कायम राख्न सरकारलाई निर्देशन दिएको थियो ।
त्यसयता विभागले सिमेन्ट उद्योगमाथि धमाधम अनुगमन गरिरहेको छ । सोही क्रममा तीन ओटा उद्योगले गम्भीर लापरबाही गरेर सिमेन्ट उत्पादन गरेको विभागले ठहर गरेको छ ।
विभागका अनुसार होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको पाइएको छ। विभागले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम ९१६० अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको जनाएको छ।
विभागका अनुसार वृज सिमेन्टको पिपिसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपिए र आइआर (इन्स्लोबल रेसिड्यू) २९ दशमलब ९ प्रतिशत नेपाल गुणस्तर ३८५ अनुसार छैन।