काठमाडौ । सरकारले काठमाडौ उपत्यका भित्रका ५० किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । चालु आर्थिक बर्ष २०७६/०७७ भित्र कालोपत्रे गर्ने तयारी भएको हो । यस्तै सडकका खाल्डाखुल्डी पुर्ने कामलाई भने निरन्तरता राख्ने भएको छ ।
उपत्यकाका सडकमा सधै जसो खाल्डाखुल्डी नपुरीएको तथा सडक सुधार नभएको भन्ने जनगुनासो तथा सरकारले दवाब आएपछि यसलाई तिव्रता दिदै उपत्यकाभित्रका सडकको प्रत्येक एक लेन बराबर ५० किलोमिटर सडक कालोपत्रे गर्ने गरी अगाडी बढेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए ।
उनका अनुसार उपत्यकाको सडक सुधार तथा कालोपत्रे गर्नेको लागी यस बर्ष आवश्यकता अनुसार नै बजेट विनियोजन भएकाले खर्च तथा काम देखिने गरी सडक कालोपत्रे गर्ने लागेको छ । उनले भने‘यो बर्ष सडक विस्तारको लागी प्राप्त बजेट भएकाले बजेटको सदुपयोग गरी सडक निर्माण तथा कालोपत्रे गर्ने योजनामा छौ ।’
सरकारले विगतका बर्षमा भन्दा चालु आर्थिक बर्षमा सडक मर्मतमा बढी बजेट बिनियोजन गरेको छ । त्यसमा ७० प्रतिशत राष्ट्रिय राजर्मागको मर्मत तथा ३० प्रतिशत बजेट स्थानीय सडक मर्मतमा खर्च गर्ने तयारी रहेको सापकोटाले बताए ।
गत बर्ष सडक मर्मतको लागी सरकारले ३ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको थियो । यो बर्ष करिव ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल सडक खण्ड बाहेकमा अन्य सडकको खाल्डाखुल्डी तथा कालोपत्रे एक महिना भित्र सक्ने र चाबहिल–साँखु सडकको लागी बजेट तथा निर्माणको लागी ठेक्का सम्झौता भइसकेकाले चाडै अगाडी बढाउने सडक विभागले जनाएको छ ।
अहिले माइतीघर–तीनकुने,नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, थापाथली, नक्साल भगवती, कपन लगायतका क्षेत्रमा सडक कालोपत्र भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।
मन्त्रिद्धारा अनुगमन
पछिल्लो समय उपत्यकाका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र गतिमा भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि गत मंसिर ७ गतेको मन्त्रिपरिषद बैठमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले खाल्डाखुल्डी तत्काल पुर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
त्यही निर्देशन अनुरुप मन्त्री नेम्वाङले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमनसमेत गर्दै आएका छन । यसक्रममा शनिबार मन्त्री नेम्वाङले कलङ्की–नागढुङ्गा सडकखण्डको स्थलगत अनुगमन गर्दै खाल्डाखुल्डीलाई पुर्न र सवारी आवत जावतलई सुचारु बनाइराख्न निर्देशन दिए । यस भन्दा अगाडी पुष ५ गते पनि आफ्नै निजि गाडी लिएर बानेश्वर सडकखण्डमा अनुगमन गरेका थिए ।