काठमाडौं । काठमाडौको फोहोर ब्यवस्थापनले ककनी आसपासका दश स्थान अति प्रभावित भएको एक अध्ययनले देखाएको छ । ल्याण्डफिल्ड साइटको वातारणीय प्रभाव मुल्याङ्कनका बिषयमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले गरेको अध्ययन प्रतिवेदन सोमबार सार्वजनिक गर्दै ल्याण्डफिल्डबाट १० ठाउँलाई अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको हो ।
स्थलगत नमूना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण, स्थानीय अवस्था र स्थानीयबासीको धारणाका आधारमा प्रतिष्ठानले अति प्रभावित, प्रभावित र कम प्रभावित क्षेत्र निर्धारण गरेको थियो । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पु¥याएको असर, ल्याण्डफिल्ड साइट आसपास गन्धको प्रभाव, ल्याण्डफिल्ड साइटबाट निस्किएको धुँवा, ग्याँसको अवस्था, साइटबाट उत्पन्न हुने घुलनशील धुलोको कणको अवस्था र यिनीहरुले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता बिषय अनुसन्धानमा समेटिएका थिए ।
यसका लागि लिचेड निष्कासन हुने १ ठाउँबाट लिचेडको, कोल्पु खोला १ बाट भूमिगत र ४ ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो । त्यस्तै, ल्याण्डफिल्ड साइटको ३ ठाउँबाट माटो, सिसडोलको २ ठाउँबाट ग्याँस, ककनी गाउँपालिका वडा १ र २ बाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो भने २४ ठाउँबाट गन्ध मापन गरिएको थियो ।
यी मापनका आधारमा नुवाकोट ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी तलेटार, ल्याण्डफिल्ड साइटको माथिल्लो भाग, सोतिबालुवा, मंगटा टोल र पाँचमुरी टोल अति प्रभावित क्षेत्रमा परेका छन । त्यस्तै, धादिङको धुनिबेँसी नगरपालिका अन्तर्गत सिंम्खडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी ४ वटा ठाउँ र काठमाडौको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटालाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।
त्यस्तै, ककनीका ८ र धुनिबेँसीका २ स्थान गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । जसमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ्, चाउथी ए र बि, कागती गाउँ, शिवालय माध्यमिक बिद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिका अन्तर्गत पाठक गाउँ, डिगाउँ रहेका छन् । ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट््याङ्की डाँडा गरी २ ठाउँ तथा धुनिबेँसीको स्वना र कटुञ्जे गाउँ गरी कुल ४ ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन ।
अध्ययनका लागि नास्टका सचिव डा. महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । यस अघि महानगरले स्थानीयहरुसँगको सहमतिका आधारमा अतिप्रभावित, प्रभावित र प्रभावित परिवार बर्गीकरण गरी बाली तथा घरभाडा वापत क्षतिपूर्ति दिँदै आएको थियो ।
प्रतिवेदन सार्वजानिकपछि काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौं जिल्लाकै फोहोर व्यबस्थापनका बिषयमा छलफल चलाइरहेको बताए ।
मेयर शाक्यले भने ‘पहिले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गराउन लगानी बोर्डमार्फत काम भइरहेको थियो । अहिले त्यो प्रक्रियाको फाइल बोर्डले फिर्ता पठाएर फोहोर व्यवस्थापनको जिम्मा लिन भनेको छ ।’ अब नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकालाई पनि सँगै राखेर अघि बढ्ने तयारीमा रहेको मेयर शाक्यले बताए ।
कार्यक्रममा अध्ययन समितिका सदस्य सचिव एवं नास्टका बरिष्ट वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपंक्षी तथा मानव बसोबासमा परेको प्रभाव जस्ता बिषयलाई अध्ययनका क्रममा हेरिएको बताए ।