काठमाडौं । भूकम्पबाट पिडितहरुलाई आवास निर्माणको लागी अनुदान सम्झौता गर्न बाँकी लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्ने अन्तिम अवसर दिएको छ ।
अहिलेसम्म अनुदान सम्झौता गरिसकेका र गर्न बाँकी सबैले असार मसान्तसम्ममा आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझिसक्नुपर्ने तथा भर्खरै प्रवलिकरणमा परेकाले पहिलो किस्ता यही पुस मसान्तभित्र बुझिसक्न प्राधिकरणले सुचना जारी गरेको छ ।
भूकम्पका घर क्षेति भएका कतिपय व्यक्ति विभिन्न कारणले अनुदान सम्झौता गर्नबाट वञ्चित रहेका छन । यस्ता पीडितहरू अनुदान लिनबाट वञ्चित भएको गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न अवसर दिइएको प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले बताए ।
उनका अनुसार अनुदान लिन छुटेका भूकम्पपीडितले ०७६ पुस मसान्तसम्म पहिलो किस्ता लिनुपर्ने छ । तर, त्यसभन्दा पहिले त्यस्ता लाभग्राहीले स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट पीडित भएको प्रमाणित गराउनुपर्नेछ ।
त्यस्तै, आवास निर्माणको दोस्रो किस्ता लिने समय पनि प्राधिकरणले थपेको छ । यसअघि दोस्रो किस्ता लिन कात्तिक मसान्तसम्मको समय दिएको प्राधिकरणले ३ महिना थप गर्दै माघ मसान्तसम्मको समय दिएको हो ।
आवास निर्माणको समयसीमामा भने प्राधिकरणले कडाइ गरेको छ । प्राधिकरणका अनुसार, आवास अनुदानका लागि रकम लिएकाहरूले असार मसान्तसम्म निर्माण सकेर तेस्रो किस्ता लिइसक्नुपर्नेछ । आवास निर्माणको समय थप्दै आएको प्राधिकरणले अन्तिम पटक आउँदो असार मसान्तसम्मको समय दिएको हो ।
यदी,समयसिमाभित्र अनुदान लिइ निजि आवास पुननिर्माण नगर्नेहरुबाट अनुदान फिर्ता गरी लाभग्राही सुचीबाट समेत हटाउने जनाएको छ ।