काठमाडौं । सरकारले ९ ओटा जलविद्युत् आयोजनालाइ जग्गा प्राप्ती ऐन २०३४ बमोजिम (उत्पादन, प्रसारण, वितरण र विस्तार) का लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारबाही गर्ने अधिकारी तोक्ने निर्णय गरेको छ ।
विहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जलविद्युत् आयोजना निर्माणका लागि जग्गा प्राप्त गर्ने निर्णय गरेको बताए ।
त्यस्तै, चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी–महाराजगञ्ज–धोवीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको छ ।
त्यस्तै, उपभोक्ता संरक्षण नियमावली, २०७६ समेत स्वीकृत भएको छ । एक स्वास्थ्य रणनीति, एकीकृत कानूनी सहायता नीति, २०७६ समेत स्वीकृत गरिएको छ ।
त्यस्तै, स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ स्वीकृत गरिएको छ । राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।