काठमाडौं । ठेकेदार कम्पनीहरुको योग्यता नपुगेपछि तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँ जलविद्युत आयोजनाको पहिलो लटका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गर्ने भएको छ ।
चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेशनन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनाम÷कालिका कन्ट्रक्सन, नेपाल जेभीको योग्यता नपुगेपछि पुनः बोलपत्र आब्हान हुन लागेको हो ।
कम्पनीहरुको योग्यता नपुेपछि बोलपत्र खारेज गरी नयाँ आब्हान गर्न लागेको तनहुँ हाइड्रोका प्रवन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । सहायक ठेकेदारमा कडा प्रावधान राखिएपछि ४ ओटै कम्पनी आयोग्य ठहर भएको उनले स्पष्टपारे । कम्पनीले पुनः बोलपत्रका लागि तयारी गरेको उनले सुनाए ।
ठेकेदारको प्रस्ताव मूल्याँकन गरी सहमतिका लागि तनहुँले दातृ निकाय एसियाली बिकास बैंक (एडीबी) मा पठाएको थियो । एडीबीको खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो ।
पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय टेन्डर आव्हान गरेको थियो ।
निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुई ओटा सुरुङ अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नुपर्ने छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि एडीबी र युरोपेली लगानी बैंक (ईआइबी) को सहुलितपूर्ण ऋण परिचालन हुने छ । आयोजनाको जडित क्षमता १४० मेगावाट छ ।
आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी कोपरेटिभ मुरातोरी एन्ड सिमेन्टिटी (सीएमसी) छनोट भएको थियो । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम पावरहाउस, वाटरवे र अन्य निर्माण सामग्रीको काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा ३ अर्ब ८३ करोड १४ लाखमा ठेक्का पाएको थियो । सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएकोमा पुन बोलपत्र गर्नुपर्दा ढिलाइ हुने संभावना बढेको छ ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो रकममा प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत छ ।
एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, ईआईबीले ८ करोड ५० लाख, सरकार र नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी व्योहर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।