काठमाडौं । कालिगण्डकी करिडोर प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सो क्षेत्रमा निर्माणधिन आयोजनाको बिजुली प्रवाहका लागि २२० केभी प्रसारण लाइन निर्माण थालेको हो ।
४० किलोमिटर मध्ये तार तान्ने काम, टावर निर्माण लगायतका अधिकांश संरचना सम्पन्न हुने चरणमा पुगेको आयोजनाले जनाएको छ । त्यस खण्डमा ११० ओटा टावर बनाउनुपर्नेमा १०३ ओटा टावर निर्माण भइसकेको छन् ।
म्याग्दीको पोखरेबगरमा बाँकी ६ ओटा टावर र पर्वतको मल्लाजमा एक टावर बनाउन बाँकी छ । त्यसमध्ये पोखरेबगरमा ३ ओटा टावर निर्माण सुरु भइसकेकाले आउँदो माघभित्रै आयोजनाको काम सम्पन्न हुने आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।
हालसम्म ३० किलोमिटरमा तार तान्ने काम सम्पन्न भइसकेको छ । बाँकी १० किलोमिटरमा तार तान्ने काम पनि अघि बढेको छ । वन क्षेत्र र स्थानीय अवरोधका कारण ७ ओटा टावर निर्माणको काम लामोदेखि समय अघि बढ्न सकेको थिएन् ।
विवादित बनेको टावर निर्माणलाई अघि बढाउन आयोजना र प्रभावित स्थानीयवासीबीच सहमति भएपछि आयोजना गति लिन थालेको छ । डेढ बर्ष अघि मन्त्रिपरिषद्ले वन क्षेत्रको प्रयोग गर्न स्वीकृती दिएपनि स्थानीयको अवरोधका कारण प्रसारण लाइन अघि बढ्न सकेको थिएन् ।
यता, सोही खण्डको कुश्मादेखि न्यु बुटवल खण्डको काम भने अघि बढ्न सकेको छैन् । कुल ८८ किलोमिटर पर्ने उक्त खण्डमा बनको ठूलो समस्या रहेकाले अघि बढ्न नसकेको घोषले बताए ।
बडेरा सूर्यबस्ती (न्यू बुटवल २२०÷१३२ केभी सवस्टेशन) आयोजनाको निमार्ण कार्य ५० प्रतिशत भन्दा बढि हुन सकेको छैन् । तीन ट्रान्सफर्मर निर्माण गर्नुपर्ने भएपनि अहिलेसम्म पनि उक्त काम अघि बढ्न सकेको छैन् ।
कुश्मा हुँदै बागलुङ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देही जोडिने उक्त प्रसारण लाइन निर्माण अन्र्तगत अधिकांश ठाउँमा वन क्षेत्र पर्छ । विभिन्न ठाउँमा वनकै समस्याका कारण आयोजनाको कामले गति लिन सकेको छैन् ।
एसियाली विकास बैंक (एडीबी) को सहयोगमा दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न २ अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्टस र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको ठेक्का सम्झौताको म्याद ४ पटकसम्म थप भएको छ । प्रसारण लाइन सञ्चालनमा आएपछि निर्माणको अन्तिम चरणमा रहेको ४२ मेगावाटको मिस्त्रीखोलालगायत एक दर्जन बढी जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली खपत केन्द्रसम्म पुग्ने छ ।