काठमाडाैं । चिसो बढेसँगै देशभरको विद्युत्को खपत १३ सय १२ मेगावाट पुगेको छ । सबैभन्दा बढी बिद्युत माग हुने तिहारको लक्ष्मीपूजा भन्दा अहिले विद्युत्को माग बढी भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन देशभरको विद्युत् खपत ११ सय ८८ मेगावाट पुगेको थियो ।
काठमाडौं उपत्यकासँगै देशभर चिसो बढेकाले पनि विद्युत्को माग तथा लोड बढेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । न्यानो बनाउने हिटर, एसी, गिजरलगायतका बिद्युतिय उपकरणको प्रयोग बढेपछि पुस २३ सम्म देशभरको विद्युत् खपत १३ सय १२ मेगावाट पुगेको हो ।
त्यसमध्ये पनि काठमाडौं उपत्यकाभित्रै ४ सय ५१ मेगावाट विद्युत् लोड खपत भएको अधिकारीले बताए । लोडसेडिङ हटेपछि अहिले विद्युत्को सर्वाधिक माग भएको प्राधिकरणले जनाएको छ । हाल विद्युत प्राधिकरणका आयोजनाबाट ५०८, भारतबाट ४९८ र निजी विद्युतगृहबाट ३३२ मेगावाट बिजुली आपूर्ति भएको प्रवत्ता प्रवल अधिकारीले बताए ।
विद्युत् माग उच्च भएपछि ट्रान्सफर्मरले लोड नधान्दा विद्युत आपूर्तिमा पटकपटक समस्या आइरहेको उनले बताए । प्राधिकरणले आपूर्ति व्यवस्थापन र गुणस्तरीय विद्युत् वितरण गर्न प्रणाली सुद्धिढीकरण गर्ने काम भइरहेको उनले बताए ।
प्राधिकरणले विद्युत् प्रणाली सुधार, ट्रान्सफर्मर जडान र स्तरोन्नती गर्न काठमाडौंका विभिन्न ठाउँमा लाइन काटेर मर्मतको काम गरिरहेको छ । अहिले आम ग्राहक छिनछिनमा विद्युतलाइन ट्रिपिङ भएर हैरान हुने अवस्था छ ।
झ्याप्प झ्याप्प बत्ती काटिएर ग्राहक हैरान भएको भन्ने गुनासोपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिई समस्या समाधानका लागि पहल थालेका छन् ।