काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को बैठकले पुनर्निर्माणका कार्यहरु सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै बाँकी काम छिटो सक्ने गरी काम गर्न सुझाव दिएको छ ।
बैठकको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री एवं परामर्श परिषद्का अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माणका कार्य प्रगति सन्तोषजनक भएको र देखिएका समस्याहरुलाई समाधान गर्दै बाँकी काम सकेसम्म छिटो गर्न आग्रह गरे ।
बैठकले भूकम्पपछिको राहत, उद्धार र पुनर्निर्माण बारेका सिकाई र अनुभवहरु अहिलेका पुस्तामा सचेतना जगाउन र भावी पुस्तालाई जानकारी दिनका लागि संरक्षित र सुरक्षित गर्न पनि सुझाव दिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माणका सिकाई र अनुभव बाँडनका लागि आगामी वर्ष नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण राम्रो गतिमा अघि बढेको र नेपालको पुनर्निर्माण तथा विपदको क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको जानकारी र्दिए।
उनले समस्या र जटिलताहरुलाई समाधान गर्दै पुनर्निर्माण अघि बढेको बताउँदै पुनर्निर्माणलाई अझ प्रभावकारी रुपमा अघि बढाउन नीतिगत र व्यवहारिक पक्षमा सुधार गर्न, काम गर्ने तरिकामा सुधार गर्न, सामाजिक जागरण बढाउन, संगठीत संस्थाहरुलाई परिचालन गर्न, स्थानीय र प्राविधिकहरुलाई अझ सकृय पार्न सुझाव दिए।
सांसद अग्नि सापकोटाले धरहरा उठ्दै गरेकाले थप आशा जगाएको भन्दै पुनर्निर्माणका धेरै क्षेत्रमा काम भएको बताए । उनले स्थानीय तहसँग समन्वय गरी गुनासाको सम्बोधन गर्न, सम्पदा पुनर्निर्माण, पुस्तकालय पुनर्निर्माण, विश्व विद्यालय पुनर्निर्माणमा जोड दिन सुझाव दिए।
सांसद यज्ञराज सुनुवारले पुनर्निर्माणका कार्य उत्साहजनक रुपमा अघि बढेको भन्दै पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिए। उनले निजी आवास पुनर्निर्माणमा ओखलढुङ्गा अग्रस्थानमा रहेको उल्लेख गर्दै एकीकृत बस्ती पुनर्निर्माणमा आकर्षण बढाउन सरकारले पूर्वधार विकासमा विशेष ध्यान दिनुपर्ने बताए । सांसद सुनुवारले विद्यालय राम्रा बनेकोमा प्रशंसा गर्दै खानेपानी, पुल, प्रवलीकरण, गुनासो सुनुवाई लगायतमा ध्यान दिन सुझाव दिए ।
सांसद प्रेम सुवालले भक्तपुरको कला संग्रहालय नेपाली शैलीमा बनाउनका लागि सहयोग गर्न प्राधिकरणलाई आग्रह गर्दै निजी आवास पुनर्निर्माणको अनुदान र सहुलियत ऋण बढाउन आग्रह गरे।
सांसद पम्फा भुसालले पुनर्निर्माणका राम्रा कामप्रति धन्यवाद दिँदै व्यवहारिक रुपमा स्वबासी र गुठीको समस्या अझै रहेको बताए ।उनले ललितपुरमा देखिएको समस्या समाधानका लागि विशेष कार्यदल बनाएर काम गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
सांसद विरोध खतिवडाले प्रवलीकरण र स्वास्थ्य संस्थाहरु पुनर्निर्माणको संख्या कम भएको भन्दै त्यसको कारण दिन आग्रह गरे ।
सांसद हितबहादुर तामाङले व्यवहारिक रुपमा भिन्नु भएका तर लालपूर्जा नबनेका कारण लाभग्राही हुन नसकेका भूकम्पपीडितलाई सम्बोधन गर्न सुझाव दिए।
त्यस्तै, सांसद हरि राज अधिकारीले गोरखाको एउटा वस्ती जोखिममा रहेकोले त्यसको स्थानान्तरणका लागि प्राधिकरणको ध्यानाकर्षण गराए।
परामर्श परिषद्को बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको वर्तमान अवस्था र कार्ययोजना पेश गरेका थिए।उनले निजी आवास पुनर्निर्माण अन्तर्गत ६२ प्रतिशत पूरा भएको, २५ प्रतिशतको पुनर्निर्माण जारी रहेको र १७ प्रतिशत पुनर्निर्माण सुरु हुन बाँकी रहेको जानकारी दिए।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणबाट सुरक्षित नेपालका लागि आधार तयार भएको, भूकम्प प्रतिरोधी प्रविधिको विकास र प्रविधि हस्तान्नरण भएको, मागमा आधारित एकीकृत बस्तीहरुको पुनर्निर्माण र बसोबासको सुनिश्चता भएको बताए ।
उनले अनुदान वितरणमा पारदर्शिता भएको, स्थानीय समुदायको आत्मविश्वास बढेको, स्थानीय तहको संलग्नता र स्वामित्व रहेको बताउँदै गुनासो दर्तामा अशंवण्डा र गलत विवरण भर्ने, लाभग्राहीहरु प्रवलीकरणतर्फ आकर्षित हुन नसकेको, शहरी क्षेत्रको पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको लगायतका चुनौती रहेको जानकारी गराएका थिए।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भावी योजनाअन्तर्गत छनौट मापदण्डमा कडाइ र पुनरावेदनमा सहजीकरण, प्रवलीकरणमा थप प्रोत्साहन, शहरी क्षेत्रको पुनर्निर्माणमा स्थानीय तहलाई थप सहयोग र परिचालन गर्ने जानकारी गराएका थिए ।
बैठकमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, परामर्श परिषदका उपाध्यक्ष विजयकुमार गच्छदार, मन्त्रीहरु लगायत उपस्थित थियो ।